सिन्धुली,१३ असार – सिन्धुलीमा पनि सलह किरा देखिएको छ । कमलामाइ–२ स्थित चियाबारी आसपास हजारौको संख्यामा यस्तो किरा देखिएको स्थानीयले जानकारी दिएका छन । जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य सन्तोष बुढाथोकीले कमलामाइ २ स्थित चियावारी सिमवारी खोला आसपासका बालीमा सलह देखिएको जानकारी दिनु भयो ।
स्थानीय कृषकले सामाजिक संजालमा सलह आएकोबारे पोस्टहरु गरेका छन । स्थानीयका अनुसार सलह किरा कमलामाई ८ को बाघमारा र कमलामाइ १० कै भडारमा पनि देखिएको छ ।
साबिकको वडा नम्बर ५ र ६ मा आकाशै ढाकेर सलह आएको कमलामाइ–२ का वडा अध्यक्ष नबराज थिङ्गले बताउनु भयो । थिङ्गले भन्नु भयो, “हाम्रो वडाको पच्चिमी भेगबाट सलह प्रवेश गरेको छ ।”
स्थानीयले पोस्ट गरेका भिडियोमा सलह कीराको हूल उडिरहेको देखिन्छ । एकैछिनमा बालीनालीमा ठूलो नोक्सानी पु¥याउने भन्दै कृषकले चिन्ता ब्यक्त गरेका छन ।
शनिबार विहान सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको तेलबालीमा ठूलो संख्यामा सलह भेटिएको थियो । सर्लाहीको बदाम, घैँचा, धानको बेर्ना लगायतमा सलह किराले झ्याप्पै छोपेको देखिएको छ ।
शुक्रबार रातीदेखि भारतबाट ठूलो संख्यामा फट्याङ्गरा जस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बताइन्छ । फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको हो ।
सलह किराले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने कृषिका जानकारहरु बताउँछन । विज्ञहरुका अनुसार, करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ ।
जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञहरुको तर्क छ । भारतसँग सीमा जोडिएका नेपालका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहानदेखि सलह कीराका समूह देखिएको हो ।
यो किराले बुटवललगायत जिल्लामा समेत क्षति गर्न थालेको खबरहरु आएका छन । नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै कृषि मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति पनि गठन गरेको थियो ।
भिडियो हेर्नुस
https://www.facebook.com/chakra.magar.14/videos/pcb.3179672512093016/3179658215427779/?type=3&theater