शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा धान रोपाइँको चटारोमा किसान

शुक्रवार , आषाढ १२, २०७७

सिन्धुली,१२ असार – मनसुनी वर्षा भएसँगै सिन्धुली जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय किसानको भनाई पाईन्छ ।

“जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका चलाउने भन्ने समस्या आउने भएकाले सामाजिक दूरी कायम गरेर भए पनि खेतीमा लागेका छौँ”, कमलामाई नगरपालिका–४ का किसान हरी रायमाझीले भन्नुभयो ।

किसानले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको जोहो गर्ने गरेका छन् । धान रोपाइँ गर्ने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । यी औजारको प्रयोगसँगै समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको दुधौली नगरपालिका–१ निवासी किसान नरनाथ पहाडी बताउनुभयो ।

“खेती गर्न र कृषि उपज ढुवानी गर्न आधुनिक कृषि औजार र ट्याक्टरको प्रयोग बढ्दा निकै सहज भएको छ”, किसान पहाडीले भन्नुभयो, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।” जिल्लामा धान खेतीका लागि कमलाखुँज, मरिणखोला, तीनपाटन र सुनकोसी गड्तीर क्षेत्र निकै लोकप्रिय रहेको छ ।

त्यस्तै कमलामाई नगरपालिकाको वडा नं. ३ जलकन्यामा पनि किसानलाई यतिखेर धान रोप्ने चटारो छ । स्थानीय किसान पद्यमनाथ देवकोटा भन्नुहुन्छ, “यो ठाँउमा पोख्रेली र खुमलचार धान जेठ महिनाभित्र रोपी नसके राम्रोसँग फल्दैन । धानको बाला लाग्ने बेलामा चिसोले गर्दा राम्रोसँग पनि दाना लाग्दैन । त्यसैले जेठ महिनाभित्र धेरै किसानले रोपाइँ सकेका छन् ।”

“गँहु बालि भित्र्याएपछि खेत बाँझो बसेको किसानलाई यतिखे रोपाई सकेका छन्,” उहाँले भन्नुभयो, “खेतमा मकै रोपेका किसानले भने असारको तेस्रो सातासम्ममा रोपाई सक्छन । यो बर्ष दैनिकजसो पानी परिरहेकोले किसानलाई रोपाइँ गर्न धेरै सजिलो भएको छ । नत्र खडेरीका कारण पानीकै समस्या हुन्थ्यो ।”

वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आसमा बस्नुपर्ने अवस्थामा रहेका कतिपय किसान भने यो बर्ष दैनिक जसो आकासबाट परी रहेको पानीका कारण हौसिएका छन् । जिल्लाको महाभारत क्षेत्रका किसानले भने महिनादेखि नै रोपाइँ गर्दै आएका छन् । गाउँबस्तीमा छरछिमेकीले आपसमा मिलेर पालैपालो रोपाइँ गर्नुपर्ने पर्मको प्रचलन छ । पर्मको प्रचलनले रोपाइँ गर्दा सम्बन्धित कृषकलाई नगद खर्च गर्नुपर्ने बाध्यता त्यति नहुने बताइन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुली जिल्लामा कुल खेती योग्य जमिन ६२ हजार ७१२ हेक्टर रहेको छ । त्यो मध्ये बर्षेनी १५ हजार हेक्टर भन्दा बढी जमिनमा बर्षे धानको खेती बर्सेनी हुदै आएको छ । गत बर्ष १५ हजार ६१० हेक्टर जमिनमा बर्षे धान खेती भएको थियो । यो बर्ष कम्तिमा पनि १५ हजार तीन सय हेक्टर जमिनमा बर्षे धान खेती हुने अनुमान गरिएको केन्द्रका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

गत बर्ष जिल्लामा ४७ हजार ३५१ मेट्रिक्टन बर्षे धानउत्पादन भएको उहाँले बताउनुभयो । पछिल्लो पाँच बर्षमा सिन्धुली जिल्लामा धान उत्पादन नघटेको उक्त केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार जिल्लामा ०७१/०७२ मा ४१ हजार ९७१ मेट्रिक्टन, ०७२/०७३ मा ४३ हजार ८७ मेट्रिक्टन, ०७३/०७४ मा ४६ हजार ९६५ मेट्रिक्टन, ०७४/०७५ मा ५१ हजार पाँच सय मेट्रिक्टन र ०७५/०७६ मा ५१ हजार ६१० मेट्रिक्टनधान उत्पादन भएको थियो । जिल्लामा पोख्रेली, साबीत्री, खुमलचार, रामधान, मंसुली लगायतका जानको धान खेती हुदै आएको छ ।

प्रतिक्रिया