शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका विद्यालयले आँगनमै स्वच्छ खानेपानी सुविधा पाउने

शुक्रवार , आषाढ १२, २०७७

सिन्धुली, – सिन्धुली जिल्लामा नौ वटै स्थानीय तहका ५७ वटा विद्यालयमा पुस मसान्तभित्र विद्यालयको आँगनमै स्वच्छ खानेपानी पुर्‍याईने भएको छ ।

ती विद्यालयमा खानेपानीको व्यवस्था गर्न राष्ट्रिय पुननिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) र विद्यालय बिच सम्झौता भएको छ ।

बिहिबार खानेपानी योजना निर्माण गर्न छनौट भएका तीनपाटन गाँउपालिका १५ वटा, दुधौली नगरपालिककाका नौ वटा, फिक्कल गाँउपालिकाका पाँच वटा, सुनकोसी गाँउपालिकाका दुई वटा र मरिण गाँउपालिकाका दुई वटा विद्यालय बीच सम्झौता भएको ईकाईका प्रमुख शिबकुमार सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै बुधबार कमलामाई नगरपालिकामा १३, घ्याङ्लेख गाउँपालिकामा चार, गोलोन्जोरमा चार र हरिहरपुरगढीमा तीन वटा बिद्यालयमा खानेपानी व्यवस्था गर्न सम्झौता भएको उहाँले बताउनुभयो । ईकाईका प्रमुख सापकोटाले भन्नुभयो, ‘छनोट भएका विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिसँग खानेपानी निर्माण सम्बन्धी सम्झौता भएको छ । यि विद्यालयले २०७७ पुस मसान्तसम्म खानेपानी योजना निर्माण गरि सक्नु पर्ने छ ।’

भुकम्पले भवन भत्किएपछि जहाँ नयाँ भवन बन्यो र खानेपानी छैन, त्यस्ता विद्यालय छनौट गरी खानेपानी योजना निर्माणका लागि सम्झौता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार खानेपानीको चरम अभाब भएका विद्यालय, माध्यमिक विद्यालय र विद्यार्थीको संख्या अनुसार विद्यालय छनौट गरिएको हो । खानेपानी योजना निर्माण गर्न विद्यालयको हालको अवस्था हेरेर पाँच लाखदेखि नौ लाख रुपियाँसम्म बजेट विद्यालयले पाउने छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुलीले जारी गरेको मापदण्ड बमोजिम योजना निर्माण नभए अथवा खानेपानीका लागि विनियोजित बजेट अन्यन्त्र खर्च गरे बजेट रोक्का गरिने प्रमुख सापकोटाको भनाई छ ।

उक्त ईकाईका अनुसार जिल्लामा भुकम्पपछिको पुनःनिर्माण अन्तर्गत हालसम्म ४०६ वटा विद्यालयले नयाँ स्वरुप पाएका छन् । जिल्लामा रहेका कुल ५७५ वटा विद्यालय मध्ये २०७२ सालमा आएको बिनासकारी भुकम्पबाट ५१३ वटा विद्यालय प्रभावित भएको थियो । भुकम्प प्रभावित विद्यालयमध्ये ४०६ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) ले जनाएको छ ।

यो बर्ष मात्रै ५४ वटा विद्यालयमा नयाँ भवन निर्माण भएको र यसै साता मात्र ५९ वटा भवन निर्माणका लागि विद्यालयसँग सम्झौता भएको आयोजना प्रमुखसापकोटाले बताउनुभयो ।

प्रतिक्रिया