शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका स्थानीय तहको बजेट तथा कार्यक्रम प्रस्तुत

बुधवार , आषाढ १०, २०७७

सिन्धुली,१० असार – सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहले बुधबार पाँच अर्ब रुपैया भन्दा माथिको बजेट साबर्जनिक गर्दै आगामी बर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो नगर र गाँउसभामा प्रस्तुत पेश गरेका छन् ।

नीति तथा कार्यक्रम र बजेट गत बर्ष समयमा नै पेस गर्न नसकेका गोलन्जोर र तीनपाटन गाँउपालिकाले यो बर्ष समयमै प्रस्तुत गरेका छन् । यो बर्ष स्थानीय तहले कोरोना भा ईरसको म हामारीलाई नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । उक्त नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गर्नुका साथै नगर/तथा गाँउसभामा छलफल गरेर पास गर्ने छन् ।

स्थानीय तहले वस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूह लगाएत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा बजेट निर्माण गरिएको जनाएका छन । उनीहरुले महिला, दलित, जनजाती, अपांगता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई समेत बजेटमा समेटेका छन् ।

बिगतका बर्षमा नीति तथा कार्यक्रम र बजेटमा भौतिक पूर्वाधार निर्माणमा जोड दिएका स्थानीय तहले यस पटकको भने बजेटमा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिई बजेट ल्याएका छन् । कोरोना संक्रमण तथा व्यवस्थापन र उपचारमा स्वास्थ्यको बजेट केन्द्रीत हुने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । त्यस्तै रोजगारी, कृषि, पशुपालन, शिक्षा, पूर्वाधार लगाएतका क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन ।

सुनकोशी गाउँपालिकाले मंगलवारनै ४० करोडको हाराहारीमा बजेट ल्याएको छ । गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा बजेटमा कृषि, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष दिपा बोहोराले बताउनुभयो ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले नीति तथा कार्यक्रमसँगै एक अर्ब दुई करोड रुपैयाको बजेट साबर्जनिक गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बर्ष हामीले स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट बनाएका छौं । स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौं । कोरोना भाईरसको नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा गर्न र प्रोत्साहन गर्न संघिय तथा प्रदेश सरकार पनि अघि बढेको देखिएन ।”

दुधौली नगरपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य रहेको र त्यसपछि क्रमसः कृषि, पशु विकास, रोजगारी सिर्जना, शिक्षा क्षेत्रको सुधार र पूर्वाधार निर्माण रहेको जानकारी दिदै पूर्वाधार निर्माणलाई अलिपछि धकेलेको बताउनुभयो ।

कमलामाई नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रमसँगै एक अर्ब १६ करोड ४७ लाख १२ हजार ६ सय ६० रुपैया बजेट प्रस्तुत गरेको छ । मेयर खड्गबहादुर खत्रीले कमलामाई नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, र विकास निर्माणलाई लक्षित गरि बजेट विनियोजन गरेको बताउनुभयो । नगरपालिकाले लक्षित समूहमा पनि बजेट गरेको जनाएको छ ।

उता तीनपाटन गाँउपालिकाले भने नीति तथा कार्यक्रमसँगै ६२ करोड ६८ लाख रुपैयाको बजेट सार्बजनिक गरेको छ । स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, शिक्षा र रोजगारी सिर्जना प्राथमिकताको क्षेत्र रहेको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

राजश्व बाँडफाँड, शशर्त अनुदान, बित्तिय समानीकरण लगायत बजेट निर्माणको शीर्षक रहेको उहाँले बताउनुभयो ।

गोलन्जोर गाँउपालिकाले पनि गाँउसभामा पेस गरेको नीति तथा कार्यक्रमसँगै ४५ करोड, ४७ लाख छ हजार रुपैयाको बजेट सार्बजनिक गरेको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीका अनुसार उक्त गाँउपालिकाले भने प्रमुख प्राथमिकतामा विपद व्यवस्थापनलाई राखेको छ । त्यसपछि क्रमसः शिक्षा, स्वास्थय, सडक, खानेपानी र गौरबको आयोजनालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

गोलन्जोर गाँउपालिकाले गौरबको आयोजनाको रुपमा सुनकोसी र्‍याफ्टिङ र लिफ्ट सिंचाई योजनालाई अघि सारेको छ ।

घ्याङलेख गाँउपालिकाले नीति तथा कार्यक्रमसँगै ३२ करोड ६४ लाख रुपैयाको बजेट गाँउसभामा प्रस्तुत गरेको छ । गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले स्वास्थ्य, कृषि, शिक्षा र रोजगारी सिर्जना प्रमुख प्राथमिकताको क्षेत्र भएको सुनाउदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप बल पुर्‍याउन गाँउपालिकाले पनि यो बर्ष बजेट बिनियोजन गरेको बताउनुभयो ।

हरिहरपुरगढी गाँउपालिकाका प्रमुख कार्साङ लामाले नीति तथा कार्यक्रमसँगै ४५ करोड रुपैया बजेट सार्बजनिक गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले पनि उत्पादन र रोजगारीलाई जोड दिई कृषि, स्वास्थ्य, पशुपालन, रोजगारी र विकास निर्माणलाई प्राथमिकता दिएर बजेट आएको छ । “बुधवार नीति तथा कार्यक्रम र बजेट टेबुल गरेका छौं, गाँउसभाको बन्द सत्रमा अब दफाबार छलफल गरी पास गरेकार्छौ,” उहाँले भन्नुभयो ।

मरिण गाँउपालिकाले नीति तथा कार्यक्रमसँगै ४८ करोड ४२ लाख ८३ हजार रुपैयाको बजेट सार्बजनिक गरेको गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । “स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथमिकता दिएका छौं । त्यसपछि शिक्षा, कृषि र पूर्वाधार लगायत क्षेत्रको प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो ।

गाँउपालिका अध्यक्ष बम्जनका अनुसार आर्थिक विकास क्षेत्रमा दुई करोड ६१ लाख पाँच हजार, सामाजिक विकास क्षेत्रमा छ करोड एक ला ८० हजार नौ सय, पूर्वाधार विकास क्षेत्रमा तीन करोड ७० लाख ७० हजार, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन क्षेत्रमा चार करोड २९ लाख र बाताबरण तथा विपद व्यवस्थापन क्षेत्रमा ८५ लाख २५ हजार रुपैया बजेट प्रस्ताब गरिएको छ ।

यस्तै फिक्कल गाउँपालिकाले गाँउसभामा नीति तथा कार्यक्रमसँगै ३४ करोड ९५ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, पर्यटनलाई प्राथमिकता दिएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले उक्त नीति तथा कार्यक्रम र बजेट गाँउसभामा दफाबार छलफल गरी पास गरिने बताउनुभयो । सरकारले तोकको लक्षित समूहहरुलाई पनि बजेट विनियोजन गरिएको उहाँले सुनाउनुभयो ।

 

प्रतिक्रिया