सिन्धुली,– सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहको बर्षे अधिवेशन सुरु हुदै छ । नौ वटा स्थानीय तहमध्ये सुनकोसी गाँउपालिकाको गाँउसभा अर्थात बर्षे अधिवेशन मंगलवारबाट सुरु भएको छ भने बाँकीको आजदेखि सुरु हुने भएको छ । हिउदे अधिवेशनमा स्थानीय तहले आफ्नो आगामी आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गर्नुका साथै नगर/तथा गाँउसभामा छलफल गरेर पास गर्ने छन् ।
स्थानीय तहले विश्वमा अहिले महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रलाई जोडदिदै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरेको जनाएका छन् ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारी सिर्जना र पूर्वाधार निर्माण नीति तथा कार्यक्रमको प्राथमिकताको क्षेत्र रहेको स्थानीय तहको भनाई छ । मरिण गाँउपालिकाका प्रमुख पानीराज बम्जनले नीति तथा कार्यक्रम र बजेट निर्माण अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज उक्त कार्यक्रम गाँउसभा अर्थात बर्षे अधिवेशनमा टेबुल गछौं । स्वास्थ्य क्षेत्र हाम्रो पहिलो प्रथमिकता दिन्छौ । त्यसपछि शिक्षा, कृषि र पूर्वाधार लगायतको प्राथमिकता हुनेछ ।”
त्यसैगरी तीनपाटन गाँउपालिकाका प्रमुख कर्णथापा मगरले कोरोनाका कारण स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरीने बताउनुभयो । राजश्व बाँडफाँड, शशर्त अनुदान, बित्तिय समानीकरण लगायत बजेट निर्माणको शीर्षक रहेको जानकारी दिनु भयो ।
सुनकोसी गाँउपालिकाले भने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट मंगलवारनै सार्बजनिक भएको छ । गाँउपालिका अध्यक्ष दिपा बोहोराले मंगलवार नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेकोे सुनाउनुभयो । उहाँले भन्नुभयो, “कृषि, स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौं ।”
उता फिक्कल गाँउपालिकाले भने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, पर्यटनलाई प्राथमिकता दिने जनाएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले करिब ३४ करोड रुपिया बराबरको बजेट ल्याउने तयारी भएको बताउनुभयो ।
उता गोलन्जोर गाँउपालिकाले भने नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी भई रहेको जनाएको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजुर्न दर्जीले भन्नुभयो, “ नीति तथा कार्यक्रम र बजेट साबर्जनिक गर्ने गरी छलफलमा बस्दै छौँ । बजेट झण्डै ४५ करोडको हाराहारीमा आउछ ।” स्वास्थ्य, शिक्षा, कृषि नै नीति तथा कार्यक्रम र बजेटको प्राथमिकताको क्षेत्रमा पर्ने उहाँले सुनाउनुभयो ।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख, र हरिहरपुरगढी गाँउपालिकाले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।