सिन्धुली,९ असार – घ्याङलेख गाउँपालिकाले गोलाप्रथाबाट किसान छनौट गरी उन्नत जातको ब्याडे बोका बितरण गरेको छ ।
घ्याङलेख गाउँपालिकाको पशु शाखाको आयोजनामा आ.व. २०७६।०७७ को लागि वडाबाट सिफारिस भई आए बमोजिमका प्रत्येक वडाका २ / २ जना किसानलाई १/१ वटा उन्नत जातको बियाडे बोका बितरण गरिएको हो ।
गोला प्रथाद्वारा किसान छनोट गरी गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले बोका वितरण गर्नुभएको हो ।
किसानले गाउँपालिकाबाट प्राप्त गरेका बोका प्रजनन्को लागि पालन पोषण गर्नु पर्ने शर्त रहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै बोका विरामी हुँदा समयमा उपचार गराउनु पर्ने, बोका कारण वस प्रजनन् अयोग्य वा मर्न गएमा समयमा मुचुल्का तयार पारी गाउँपालिका पशु विकास शाखामा समयमा नै जानकारी गराउनु पर्ने, बोका बिक्रि वितरण तथा खसी पार्न पनि पाईने छैन ।
त्यस्तै २ वर्षपछि एक पटक मात्र कार्यक्रमबाट प्राप्त बोकाहरु साटासाट गर्न पाईने, बोकाको विमा अनिवार्य रुपमा गर्नु पर्ने, विमा बापतको शुल्क किसान आफैँले व्यहोर्नु पर्ने पनि गाउँपालिकाले जनाएको छ ।