शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

स्थानीय उत्पादन सिन्धुली बजारमा

सोमवार , आषाढ ८, २०७७

 

सिन्धुली,८ असार – लकडाउन खुकुलो भएसँगै सिन्धुलीमा हिजोआज स्थानीय तरकारी बेच्ने व्यापारीहरु बढ्न थालेका छन । सिन्धुलीमा शनिबार र मंगलबार गरेर दुई दिन हाट लाग्दै आएकोमा चैत ११ गते सरकारले लकडाउन सुरु गरेपछि सिन्धुलीका दुबै हाट बन्द भए ।

शुरुमा लकडाउनको बेला स्थानीयलाई बजार आउजाउ गर्न पनि समस्या भयो । त्यसपछि नगरपालिका र उद्योग बाणिज्य संघले घुम्ती पसल खोल्ने अवधारणा ल्यायो । त्यतिबेला सिन्धुलीमा तराईबाट ल्याउने तरकारी रोकिएको थियो । छिटफुट रुपमा ब्यापारीले ल्याएका तराईको तरकारी पनि कोरोना सर्ने भन्दै स्थानीय तहको निर्देशनमा फ्याँकियो । पछि सर्वदलीय बैठकमा सहभागी स्वास्थकर्मीहरुले तरकारी पकाएर खाने चिज भएकाले कोरोना नसर्ने तर्क गरे । त्यसपछि तराईबाट तरकारी आउन थाल्यो ।

यतिबेलासम्म जिल्लाको स्थानीय उत्पादनले उपभोक्ताको माग नधान्ने प्रष्ट भयो । अरु त अरु नगरपालिकाले लगानी गरेको कृषि पनि बेकार गएको स्थानीयले आरोप लगाउन पनि भ्याए । हुन पनि जसले कृषि गर्ने भनेर पैसा लिएको थियो, उसैले तरकारी खेती नहुने भन्न थाल्यो । अहिले तराईबाट तरकारी ल्याउन थालिएको छ ।

स्थानीय उत्पादन पनि बजार झर्न थालेका छन । हिजोआज बजार आसपासका क्षेत्रमा तरकारी किन्नेको चलहपहल बढेको छ । साँझ बिहान सिन्धुली माढीको भेटनरी आसपास पुगेर सर्वसाधारणले तरकारी किनिरहेका दृश्य देख्दा कोरोना बिस्तारै मानिसहरुले भुल्दै गएको जस्तो लाग्छ ।

तरकारी किन्ने मान्छेहरुको भीड भेटनरीमा मात्रै सीमित छैन । मानिसहरु ठेलाको तरकारी किन्न पनि त्यस्तै व्यस्त देखिन्छन । नगरपालिका अगाडिको कृषि उपजमा पनि हिजोआज भीड नै हुने गर्छ । अरु व्यवसाय गर्ने मानिसहरु पनि हिजोआज तरकारी व्यापार गरेका देखिन्छन ।

कोही ठेलामा तरकारी बेचिरहेका देखिन्छन भने कोही सटर नै भाडामा लिएर व्यवस्थित रुपमा तरकारी बेच्न थालेका पनि छन । हिजोआज सिन्धुलीमा हटिया नभए पनि उपभोक्ताको माग छिन्नभिन्न रुपमा रहेका यस्तै पसलहरुले धानेको छ ।

हिजोआज किनमेलमा रोचक कुरा त के छ भने हटियामा मात्रै देखिने स्थानीय उत्पादन हिजोआज बजार एरियामा बिक्रीमा ल्याउन थालेको छ ।

अहिले खेतीयोग्य जमिनमा रोपाइ गर्ने सिजन हो । रोपार र बाउसेले बर्खाको रोपाइमा लगाउने पुरानो घुम बेच्नेहरु पनि बजारमा देखिएका छन् । चार घन्टासम्म हिडेर घुम बेच्न ल्याएका छन् ।

चार सय रुपैयामा बिक्रीमा राखिएको घुमदेखि पुराना बोराबाट डोरी निकालेर बाटिएका दाम्ला हिजोआज बजारमा भेटिने स्थानीय उत्पादन हुन । रसिला काँक्राहरु गाउँबाट बजार आउन थालेका छन ।

प्रतिक्रिया