शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सुनकोसी गाँउपालिकाको सातै वडामा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सोमवार , आषाढ ८, २०७७

सिन्धुली, – सुनकोसी गाँउपालिकाले सात ओटै वडामा योजना तर्जुमा तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. १ देखि सुरु गरिएको सार्वजानिक सुनुवाई कार्यक्रम वडा ७ सम्मनै सम्पन्न गरेको गाँउपालिकाले जनाएको छ ।

आर्थिक बर्ष ०७६/७७ मा सञ्चालित योजनाहरुको सार्वजानिक सुनुवाई गर्नुका साथै नयाँ आर्थिक बर्ष ०७७/०७८ को योजना तर्जुमा बैठक सम्पन्न गरेको हो । सार्वजानिक सुनुवाईमा योजनाहरु परम्परागत शैलिमा सञ्चालन भएको, अनुदान पहुँचका आधारमा पाएको, योजनाको सन्र्दभमा अस्पस्ट जानकारी गराइएको जस्ता गुनासा उठेका थिए । सार्वजानिक सुनुवाई कार्यक्रममा वडा नं. ६ का शिक्षक शंकर उप्रेतीले योजना छनौट, कार्यन्वयन, अनुगमन र फस्र्यौटलाई विशेष ध्यान दिए विकास निर्माण प्रभावकारी ढंगले अगाडी बढ्ने बताउनु भयो । यस्तै नेपाली काँग्रेसका ६ नं. वडा सभापति नबिन पौडेलले योजना छनौटमा दलका नेताहरुलाई पनि सहभागि गराउनुपर्ने बताउनु भयो । यस्तै वडा नं. ५ का वडाअध्यक्ष सन्तोष दाहालले वडाका सरोकारवालाहरु सबैको चाहना अनुसार योजना छनौट गरि काम अगाडी बढाइने बताउनु भयो । वडा नं. ३ का अध्यक्ष रामचन्द्र आचार्यले वडाको विकासका लागि दिगो विकासको अवधारणा अनुसार आफुहरु अगाडी बढेको बताउनु भयो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा सातै वडामा सहभागि भएका सुनकोसी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले वडामा विकास गर्नका लागि योजना बैक बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । हामी जनप्रतिनिधिले तपाईहरुको वडामा कस्तो कस्तो विकास गर्दा वडाको विकास हुन्छ, भन्ने मार्ग निर्देशन सहितको योजना बैक बनाउनुस्, उहाँले भन्नु भयो , “संघले प्रदेशले र गाँउपालिकाले के के काम गर्ने यो भन्ने योजना सहितको योजना बैक बनाए काम गर्न सजिलो हुन्छ, विकास निर्माण तिब्र गतिमा हुन्छ । पाँच बर्षका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई पहिलेदेखिनै पाँच बर्षमा गर्ने कामको सेडुल सहित बुद्धिजिवि सर्कले हामीलाई आग्रह गर्नुभएको भए काम गर्न सहज हुन्थ्यो,” उहाँले अगाडी भन्नु भयो, “अहिले अन्तिमतिर आएर यो भएन र उ भएन भन्नुभन्दा पनि हामीलाई अझै दुई बर्ष काम गर्ने अवसर छ योजना बैक बनाएर दिनुस्, त्यसैले राजनीतिक दलहरु सबै सरोकारवालाहरुले वार्डमा योजना बैक बनाएर आउनुस् काम गर्न पनि सहज हुन्छ, विकास पनि देखिन्छ ।”

गाँउपालिका उपाध्यक्ष दिर्वसिंह मोक्तानले जनप्रतिनिधिमात्रैले विकास निर्माण गर्न सक्ने अवस्था नहुने भएकाले सबै एकजुट भएर विकास निर्माण गर्नुपर्ने बताउनु भयो । आवश्यकता ठाँउ अनुसार हुने भन्दै उनले बेरोजगार अन्त्य गर्ने योजना बनाउनुपर्ने बताउनु भयो ।

यसैगरि सुनकोसी गाँउपालिका वडा नं. ७ मा प्रमुख अतिथिको रुपमा सहभागि प्रदेश सभा सदस्य लेखनाथ दाहालले गाँउको विकास गर्न योजनालाई प्राथमिकीकरण गरेर अगाडी बढ्नुपर्ने जनाउनु भयो । आवश्यकता धेरै हुने र सबै एकैपटक पुरा नहुने भएकाले प्राथमिकीकरणका आधारमा विकास निर्माण गर्नुपर्ने बताउनु भयो । तपाईहरु योजना छनौट गर्नुस्, संघ, प्रदेश र स्थानिय तहबाट बजेट आउछ, उहाँले भन्नु भयो, “तर तपाईहरुले छनौट गरेका योजनाहरु परिणाममुखी हुनुपर्छ ।” विश्वभर फैलिएको कोरोना भाइरसका कारण विकासको मोडलनै फरक पर्ने भन्दै कोरोनाले विश्वभर प्रभावित पारेको जनाउनु भयो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा वडाअक्षहरु नं. ३ का रामचन्द्र आचार्य वडा नं. ४ का शंकर जर्गामगर, वडा नं. ५ का सन्तोष दाहाल, वडा नं. ६ का लक्ष्मी तिमल्सीना र वडा नं. ७ का लालबहादुर गोले आफ्ना वडामा सञ्चालित योजना र बजेट सुनाएका थिए ।

प्रतिक्रिया