कस्लाई छ र चासो :सिन्धुलीका कमलाखुँज क्षेत्रको रानीबासस्थित चन्दनपुरमा चुरे जंगल फडानी गरि बनाईएको घर । यस क्षेत्रमा जंगल अतिक्रमण बढ्दो भएपनि त्यस्लाई रोक्न कुनै पनि निकायले चासो दिएको पाईदैन ।
रानीवास(सिन्धुली(, ६ असार – सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा रहेको चुरे जङगल सुकुम्बासीका नाममा फडानी गरि बस्ती बस्ने क्रम बढ्दै गएको छ ।
स्थानीय बासिन्दाका अनुसार कमलामाइ नगरपालिका–१४को चन्दनपुर र दुधौली नगरपालिका–३ को झुंगा नजिक सयौं बिगाह चुरे जङगल फडानी गरेर बस्ती नै बसेको छ । दुइ दशक अघिदेखि शुरु भएको फडानी हुने क्रम अझै रोकिएको छैन् । सोही ठाँउ हुदै मदन भण्डारी राजमार्ग धमाधम निर्माण भई रहेको र राजमार्गको छेउमा घर बनाउने लोभले जग्गा भएकाहरु समेतले सुकुम्बासी बनेर चुरे जङगल अतिक्रमण गर्दै आएका छन् ।
अतिक्रमण भएको जग्गामा पक्का घरहरु समेत बनेका छन् । कतिपय पक्काघरहरु निर्माणाधिन अवस्थामा रहेका छन् । स्थानीय बासिन्दा र बाहिरबाट आएकाको मिलेमतोमा जङगल फडानी गरि खेती गरिएको र कतिपय ठाँउमा त बस्ती नै बसालिएको स्थानीय बासिन्दाको भनाई छ ।
स्थानीय बिरबहादुर माझीका अनुसार १४ बर्षअघि सडकको माथितिर माओवादी लडाकुको शिविर बनेपछि तत्कालिन समयमा सबैभन्दा धेरै फडानी भएको थियो । लडाकु समायोजनपछि यतिखेर उक्त स्थानमा नेपाली सेनाको पर्यावरण गण बसेको छ । अतिक्रमणकारीहरुले सालको रुखलाइ पहिलो वर्ष फेदमा बोक्रा काटेर घेरिदिन र रुख सुक्दै गएपछि ढालेर जमिन ओगट्ने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘बर्सेनि फडानी भैरहेपनि कसैले वास्ता गरेको छैन् । वर्षौदेखिका बास्तविक सुकुम्वासी भइ घर बनाएर बसेकाहरु भने जग्गाधनी पुर्जा नपाएर दुःख पाई रहेका छन् ।’ सुकुम्वासीको नाममा फडानी गर्नेले पहुँचका अधारमा जग्गा ओगट्ने गरेका र सक्ने पाँचदेखि १५ कठ्ठा ओगटेका पनि तीनै माझीले जानकारी दिनुभयो ।
चन्दनपुर र झुगामा सुकुम्वासीका नाममा बसेकाहरु मध्ये आधाभन्दा धेरैको जग्गाजमीन रहेको स्थानीय एक शिक्षकले नाम उल्लेख नगर्ने शतर्मा जानकारी दिनुभयो । ‘सबै जना नदीले खेत बगाएको र पहिरोले घर बगाएको भन्दै सुकुम्वासी बनेका छन्,’ उहाँले भन्नुभयो, ‘झण्डै एक करोड रुपियासम्म लगानी घर पक्का घर बनाएका छन् । सुकुम्बासीसँग त्यत्रो पैसा कहाँबाट आउछ !’
उहाँका अनुसार फडानी गरेर वस्ती वसालेपछि जग्गा धनि लालपुर्जा पाइन्छ भन्दै तिव्रता दिइएको छ । फडानी भएको क्षेत्रमा सयौ घरहरु निर्माण भैसकेका छन । अलिअलि बाँकी जंगलमा पनि दिनानुदिन फडानी हुने क्रम जारी रहेको छ । अतिक्रमणकारीको समुह यति ठुलो भैसक्यो की कसैले आवाज उठाएमा सामुहिक प्रतिकारमा उत्रिहाल्छन ।
वन फडानी गरि अबैध वस्ती बसाल्ने हरुको तर्क भने बेग्लै छ । चन्दनपुर जङगलमा घर बनाइ खेती समेत बिराएका एक बासिन्दा भन्छन्, ‘कमला नदीले भएको खेती कटान गरेर सुकुम्बासी बनाई दियो, वन बिराएर नबसे कता जानु त ?’
चन्दनपुरदेखि हर्षाहीसम्मको सडक छेउमा फडानी गरि घर बनाउने कतिपयले किनारा पसलदेखि होटलसम्म खोली सकेका छन । शुरुमा टहरो हाल्ने र बर्सेनि जङगल फडानी गरि जमीन बढाउदै लाने उनीहरुको दिनचर्या बनेको छ ।
अबैध फडानी र तस्करी बारे डिभिजन वन कार्यालय पनि अनबिज्ञ छैन । जिल्लामा सात हजार हेक्टर वन अतिक्रमण भई सकेको र सबैभन्दा बढी रानीबास तथा हर्षाही क्षेत्रमा भएको कार्यालयले जनाएको छ ।