सिन्धुली, १ असार – “सेन्ट अपमा भन्दा राम्रो अंक ल्याइ माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने तयारी गरेको थिएँ, तर धोको पूरा नै भएन”, कमलामाई नगरपालिका–३ चपौलीकी समिक्षा देवकोटाले भन्नुभयो । उहाँले एसइई परीक्षा यसपटक नहुने भएपछि नमज्जा लागेको बताउनुभयो । “एसइईलाई अलि मेहनत गरेको थिएँ, परीक्षा दिइहाल्न पाएको भए हुने थियो, कारोनाका कारण रोकियो, तैपनि हुन्छ कि भन्दै कुर्दै बस्दा बस्दा अहिले त स्थगित नै भयो, सानैदेखि सुनेको ‘आइरन गेट’लाई उत्कृष्ट नतिजासहित पार गर्ने धोको पूरा भएन ।” सदरमुकाम सिन्धुलीमाढीस्थित विद्याश्रम बोर्डिङ स्कूलमा अध्ययरत उहाँले भन्नुभयोे, “हामी ‘अनलक्की’ रहेछौँ, हाम्रै पालामा रोकियो, अब प्लस टुको अध्ययनबाट राम्रो गर्छु ।”
उक्त बोर्डिङबाटै सो परीक्षा दिन तयार रहेकी उषा चौलागाईले आफूले सोचे जस्तो भएन भनेर दुःखी हुन नहुने तर्क गर्नुहुन्छ । उहाँ चार जिपिए ल्याउने तयारीका साथ अध्ययनमा जुटे पनि अहिलेको अवस्थामा स्वास्थ्यभन्दा विद्या ठूलो भनेर चिन्तित हुन नहुने बुझाइ छ । उहाँ भन्नुहुन्छ, “जुनसुकै विद्यार्थीका लागि एसइई महत्वपूर्ण खुट्किलो हो, सबैलाई उत्कृष्ट नतिजा ल्याएर यो पार गर्ने रहर हुन्छ, तर परिस्थिति हामीले सोचे जस्तो भएन, हामीसँग भएको ज्ञान कतै जाँदैन, कक्षा १० मा हामीले परीक्षा दिइसकेका छौँ । जीवन रहे पढ्ने अवसर कहिल्यै रोकिँदैन ।”
कमलामाई नगरपालिका–२ स्थित मावि निबुवाटारमा अध्ययनरत अभिसेक गौतम उत्कृष्ट नम्बरसहित ‘आइरन गेट’ मानिने परीक्षा दिने तरखरमा हुनुहुन्थ्यो । तर सोचे जस्तो भएन । उहाँ भन्नुहुन्छ “धेरै मेहनतका साथ एसइईको तयारीमा जुटेको थिएँ, एक्कासि स्थगितभन्दा नरमाइलो लाग्यो । पढेको ज्ञान त कतै जाँदैन तर एसइई दिन नपाएको धोको भने सधैँ रहने भयो । ” उहाँले १० कक्षाको परीक्षालाई भन्दा एसइईको परीक्षाका लागि धेरै मेहनत गरेको बताउनुभयो । कोरोनाको महामारीमा सरकारले गरेको निर्णय ठिकै भएको उहाँको प्रतिक्रिया छ ।
अभिभावक कृष्णप्रसाद गौतम अन्तिम अवस्थामा परीक्षा स्थगित गर्नुको विकल्प नभएको भन्दै यसलाई सहजरूपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले चैत ६ गतेदेखि परीक्षा लिएको भए हुने थियो । एकदिन अघिमात्रै परीक्षा रोकेको जानकारी गराउँदा धेरै विद्यार्थीलाई असर प¥यो । पढाइ विद्यार्थीसँग प्रत्यक्ष जोडिएको विषय हो, यसले उनीहरूमा पर्न सक्ने असरका बारेमा सरकारले बेलैमा सोच्न सक्नुपथ्र्यो, निकै ढिला ग¥यो, अहिले तीन महिनापछि भएको निर्णय स्वीकार्नुको विकल्प छैन ।” वार्षिकरूपमा ग्रेडिङ प्रणालीबाट हुने मूल्यांकनले विद्यार्थीको सही मूल्यांकन हुन नसक्ने उहाँको भनाइ छ ।
अभिभावक टंकनाथ देवकोटा अहिलेको अवस्थामा सरकारले गरेको निर्णय जायज भएको प्रतिक्रिया दिनुभयो । “यो अवस्थामा सरकारले जे ग¥यो ठीक ग¥यो बच्चाहरूलाई पनि अभिभावकले सम्झाउनुपर्छ, उनीहरूलाई निरास हुन दिनुहुँदैन ।” सरकारले चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै चैत ५ गते स्थगित गरेको थियो । बन्दाबन्दीका कारण परीक्षा अनिश्चित बन्दै जाँदा यही जेठ २८ गते बुधबार मन्त्रिपरिषद्को निर्णयले यो वर्षको एसइई नगर्ने र आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने निर्णय गरेको हो ।
यसपटक सो परीक्षामा देशभर चार लाख ८२ हजार विद्यार्थी एसइई तयारीमा थिए । ती मध्ये सिन्धुली जिल्लाबाट १४१ विद्यालयका पाँच हजार ८१३ परीक्षार्थी रहेका थिए शिक्षा विकास समन्वय ईकाई सिन्धुलीले जनाएको छ ।