सिन्धुली,३२ जेठ — निशान छापमा नयाँ नक्सा राखिएको विधेयक संघीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको खुसियालीमा सिन्धुलीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

सर्वसाधारण, जनिप्रतिनिधिलगायतको उपस्थितिमा दीप प्रज्ज्वलन गरी खुसियाली मनाइएको हो । लोकतान्त्रिक चोकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरिएको थियो ।

निशान छापमा आफ्नो भूमि समेटिएकाले हर्षविभोर भएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले बताउनु भयो ।स्थानीयहरुले खुसियालीमा घरघरमा दीपावलीसमेत गरेका छन् । ‘हाम्रो सान, हाम्रो स्वाभिमान, हाम्रो देश, हाम्रो पहिचान’ यो नै मूलमन्त्र भएकाले स्थानीयले खुसियाली घरघरमा दिपावली गरेको कमलामाइ नगरपालिका ६ का कृष्णहरि घिमिरेले प्रतिक्रिया व्यक्त गर्नु भयो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।