गोलन्जोर गाँउपालिका–४ तीनकन्या माझकुभिण्डेमा निर्माण गरिएको सिंचाई पोखेरी
तीनकन्या,(सिन्धुली),३० जेठ – सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो बर्ष सिंचाई पोखरी निर्माण सुरु गरिएको छ ।
सुख्खा मौसमा जुनारका विरुवालाई सिंचाई गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण सुरु गरिएको हो । गोलान्जोर गाँउपालिका–४ तीनकन्या माझ कुभिण्डेका जुनार किसान जितबहादुर ठकुरी अहिले आफुले धमाधम सिंचाई पोखरी निर्माण गरि रहेको बताउनुहुन्छ ।
जुनार सुपर जोन कार्यक्रमले दिएको ५० प्रतिशत अनुदान अर्थात एक लाख २० हजार रुपैयामा आफुले त्यति नै रकम थपरे सिंचाई पोखरी निर्माण सुरु गरेको उहाँले सुनाउनुभयो ।

जुनार किसान ठकुरीले भन्नुभयो, “पाँच बाई चार क्षमता र एक मिटर उचाईको २० हजार लिटर पानी सङकलन गर्ने पक्कि पोखरी बनाउदै छु । अहिले भुई ढलान गरि सके । अब सात/आठ दिनमा निर्माण पुरा गर्छु ।” सिंचाईको अभावमा लामो खडेरी जाँदा सुख्खा मौसमा जुनारका बिरुवा मर्ने भएकोले सिंचाई पोखरी निर्माणसँगै धेरै सजिलो भएको उहाँको ठम्याई छ ।
उक्त पोखरी निर्माणसँगै किसान ठकुरीको बगैचामा रहेको २५० वटा जुनारको बोटलाई सिंचाई सुविधा पुगेको छ । २०३८ सालदेखि जुनार खेती गर्दै आउनु भएका ठकुरीले बर्सेनि जुनारबाट चार लाख रुपैयाको हाराहारीमा आम्दानी लिदै आउनु भएको छ । उहाँले नौ रोपनी जमिनमा जुनार खेती गर्नु भएको छ ।

सिंचाई पोखरी निर्माणमा खटिनु भएका जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलिप कार्कीका अनुसार अहिले सुपर जोन कार्यक्रम लागू भएको ठाँउमा पाँच बाई चार क्षमता र एक मिटर उचाईको ६० वटा सिंचाई पोखरी निर्माण भई रहेको छ । सबै पोखरी सुपर जोन कार्यक्रमको ५० प्रतिशत अर्थात एक लाख २० हजार रुपैया अनुदानमा निर्माण भएका पनि उहाँले बताउनुभयो ।
प्राविधिक कार्कीले भन्नुभयो, “हामीले दिने अनुदानमा किसानले पनि कम्तिमा त्यती नै रकम थप्नु पर्ने र अझ बढी लगानी गरी झन ठूलो पोखरी बनाउछु भन्दा पनि पाँउछन् ।” यि पोखरी जुनार सुपर जोन कार्यक्रम लागू भएका सुनकोसी गाँउपालिकाको वडा नं. ७ मझुवा, कमलामाई नगरपालिकाको वडा नं. ३ जलकन्या, गोलन्जोर गाँउपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र तीनपाटन गाँउपालिकाकाको वडा नं. ७ तोश्रामखोलामा धमाधम निर्माण भई रहेको जुनार सुपरजोन परियोजनाका नायब सुब्बा थलप्रसाद गौतमले जानकारी दिनुभयो ।
यि सबै पोखरी असारको दोस्रो हप्तासम्ममा निर्माण पुरा गरी सक्नु पर्ने र लकडाउनका कारण पनि निर्माणमा केही ढिलाई भएको उहाँले बताउनुभयो ।
जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, नाकाझोली, तीनकन्या, बितिजोर, डुडभञ्ज्याङ र तोश्रामखोलामा गरी एक हजार हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।