सिन्धुली,३० जेठ – सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना भा ईरस रोकथामका लागि जारी गरिएको लकडाउनका कारण ठप्प भएको शिक्षण क्रियाकलापलाई सुचारु गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा असार १ गतेदेखि वैकल्पिक माध्यम मार्फत् पठनपाठन अगाडि बढाउन थालेको छ ।
कमलामाई नगरपालिकाका प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षतामा बुधबार बसेको नगर शिक्षा समितिको बैठकले असार १ गतेबाट बैकल्पिक उपायबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । नगरपालिकाले पहिलो चरणमा गृहकार्य तथा परियोजना कार्य प्याकेज मार्फत शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्ने गरी कार्ययोजना तयार गरेको छ ।
नगरपालिकाका केही विद्यालयहरुले बन्दाबन्दीको सममया पनि शैक्षिक योजना निर्माण, होमवर्क प्याकेज, अनलाइन कक्षा सञ्चालन लगायतका बैकल्पिक उपायहरुबाट पठनपाठनलाई निरन्तर्ता दिईरहेका छन् । नगरपालिकाले असार १ गतेदेखि १५ गतेसम्म गृहकार्य प्याकेज वितरण गर्न सबै नीजि तथा सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
नगरपालिकाले पालिकामा रहेका विद्यार्थीहरुमध्ये इन्टरनेट, टेलिभिजन, रेडियो एफएम लगायत सूचनाको पहुँचमा रहेका तथा कुनै पनि प्रविधिको पहुँचमा नरहेका विद्यार्थीहरुको पहिचान गरी सोही अनुरुपको बैकल्पिक शिक्षा प्रणाली लागू गर्ने तयारी गरेको हो ।
नगरपालिका भित्रका विद्यालयहरुले पाठ्य पुस्तक वितरण गरिसकेको अवस्थामा शिक्षक अविभावक र विद्यार्थीलाई जोडि होमवर्क दिने र सोको जानकारी नगरपालिकाको शिक्षा शाखामा गराउने गरि पहिलो चरणमा १५ दिने होमवर्कको प्याकेज बनाउन समेत नगरपालिकाले सबै विद्यालयलाई निर्देशन गरेको छ ।


सूचनाको पहँुचमा नरहेका बालबालिकालाई घरमै गएर भए पनि होमवर्क उपलब्ध गराउनुपर्ने छ । होमवर्कको प्रभावलाई हेरी नगरपालिकाले थप योजना बनाउने भएको छ ।
नगरपालिकाको शिक्षा शाखाले जारी गरेको निर्देशनमा प्रधानाध्यापकहरुले आ–आफ्ना विद्यालयका शिक्षकहरुसंग सम्पर्क र समन्वय गरी होमवर्क प्याकेज तयार गरी भौतिक दूरी कायम गर्दै सावधानीका उपायहरु अबलम्बन गरेर कक्षागत रुपमा पालैपालो विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर होमवर्क प्याकेज वितरण गर्न समेत अनुरोध गरिएको छ ।
होमवर्क प्याकेज दिदा बालविकासदेखी कक्षा ३ सम्मका बालबालिकाहरुलाई पठन कार्य बढी र लेखन कार्य कम तथा कक्षा ४ देखी मास्तिरका बालबालिकाहरुलाई लेखन कार्य तथा परियोजनाकार्य बढी दिनेगरी होमवर्क प्याकेजको व्यवस्था मिलाउन र प्रधानाध्यापकले विद्यालय ब्यवस्थापन समिति र आफ्ना शिक्षक स्टाफहरुसंग सम्पर्क र समन्वय गरी विभिन्न माध्यमले आफ्ना बालबालिकाहरुलाई होमवर्क प्याकेज दिने वा स्वअध्ययनको लागि प्रोत्साहित गर्न गराउन अनुरोध गरिएको छ । यस अघि सिन्धुलीको मरिण गाउपालिकाले पनि बैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन सुचारु गर्ने निणर्य गरेर विभिन्न क्रियाकलाप अगाडी बढाएको छ ।