शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रम,कतै काम कतै अलमल

बिहिवार , जेठ २९, २०७७

सिन्धुलीको फिक्कल गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको योजनामा काम हुदै 

सिन्धुली, २९ जेठ – लक डाउनको कारण देखाउदै प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सक्न चटारो देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट यस बर्ष समेत हतारमै सकिने भएको छ । जेठको अन्तिम साता हुँदा जिल्लामा केहि स्थानिय तहमा धमाधम काम सुरु भइरहेको छ भने कतिपय स्थानमा हालसम्म काम सुरुनै भएको छैन ।

जेठको अन्तिम सातामा समेत यहाँका कतिपय स्थानिय तहमा काम सुरु भएको छैन । जिल्लाभर करोडौ बजेट रोजगारका लागि आएका छ, सोही बजेट सक्न स्थानिय तहलाई हाल चटारो भएको छ । दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत तीन करोड ६८ लाख बजेट स्थानिय तहमा आएको छ । बेरोजगारका लागि रोजगार दिन भन्दै आएको उक्त बजेटबाट उत्पादनमुलक र विकास निर्माणमा श्रम गराई श्रमको ज्याला लिने सरकारी कार्यक्रम रहेपनि सिन्धुलीमा हालसम्म कतिपय स्थानिय निकायमा बजेट खर्च गर्ने प्रक्रिया समेत सुरु भएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च गर्न असारे बिकासलाईनै कुरिहेको देखिन्छ ।

विश्वभरफैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले मुलुक लक डाउन गरेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट यस बर्ष हतारमै सकिने देखिएको छ । लकडाउनको कारण देखाउदै बजेट सदुपयोग भन्दा दुरुपयोग हुने स्थानिय बताउछन् । जिल्लाको घ्याङलेख गाउँपालिकामा भने यस बर्ष रोजगार कार्यक्रमको बजेटनै नआएको घ्याङलेख गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले बताउनु भयो ।

सिन्धुलीमा हजारौ युवा तथा वयस्कहरु बेरोजगार रहेको भन्दै फारम भरेपछि तिनै बेरोजगारलाई रोजगार दिनका लागि बजेट खर्च गरिने सम्बन्धित स्थानिय तहले जनाएका छन् । सरकारले बेरोजगारी हटाउन स्थानिय निकाय अथात् मुुलुकमै रोजगारी दिने र युवाहरुलाई विदेश नपठाउने निति लिएरसँगै स्थानिय तहमै रोजगारी दिनका लागि उक्त बजेट विनियोजन गरेको हो । कार्यक्रम र प्रस्तावको आधारमा सरकारले स्थानिय तहलाई न्युनतम दश लाख देखि अधिकतम ७५ लाखको सिमाभित्र रहि सशर्त अनुदान बजेट दिएको सम्बन्धित निकायले जनाएको छ । यसरी अधिकतम बजेट पाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिका परेका छन् ।

ती गाउँपालिकाले पठाएको कार्यक्रमका आधारमा सरकारले ७५ लाखनै बजेट स्विकृत गरि पठाएको सम्बन्धित स्थानिय तहले जनाएको छ । अन्य स्थानिय तहमा भने ७५ लाखभन्दा कम बजेट स्विकृत भएको छ । मन्त्रालयले गाउँपालिका र नगरपालिकाले आवेदन दिने व्यक्ति मध्येबाट बेरोजगार पहिचान गरेका सम्पूर्ण व्यक्तिहरुको पूर्ण विवरण EMIS मा प्रविष्ट गरे पश्चात मात्र आयोजना सञ्चालन निर्देशन दिएकाले रोजगार संयोजकहरु EMIS प्रणालीमा काम सक्न व्यस्त भएको रोजगार संयोजक बताउछन् । यहाँको तीनपाटन गाउँपालिकाले तीन ओटा योजनामा बजेट खर्च गर्न लागेको गाँउपालिका प्रमुख कर्णबहादुर मगरले बताउनु भयो । हाम्रोमा ३० लाख बजेट विनियोजन भएको हो, हामीले प्रत्येक योजनामा १० लाखका दरले तीन ओटा योजनामा काम धमाधम गर्दै छौ उनले भने गुणस्तरिय काम गरेका छौँ ।

यस्तै फिक्कल गाँउपालिकाले पनि धमाधम रोजगार कार्यक्रमका योजनाहरुमा काम गरेको गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षमा सिन्धुलीको कमलामाई नगरपालिका र हरिहरपुर गढी गाँउपालिकामा ७५/७५ लाख, दुधौली नगरपालिकामा ६८ लाख २९ हजार, गोलञ्जोर गाउँपालिकामा ३२ लाख २१ हजार, तीनपाटन गाँउपालिकामा २९ लाख ८१ हजार, फिक्कल गाँउपालिकामा ४७ लाख ४२ हजार र मरिण गाँउपालिकामा १६ लाख ३९ हजार बजेट विनियोजित भएको छ भने सुनकोसी गाँउपालिकामा २४ लाख बजेट विनियोजन भएको र हालसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च नभएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले जानकारी दिए । धेरै बजेट छैन थोरै बजेट भएकाले असारमै पनि बजेट सकिन्छ, उनले भने । विनियोजित बजेट मध्ये प्रत्येक श्रमिकलाई अनिवार्य रुपमा एक सय दिनको काम दिनुपर्ने भएपनि कतिपय स्थानिय तहले हालसम्म काम दिन सकेका छैनन्

प्रतिक्रिया