सिन्धुलीको गोलान्जोर गाँउपालिका–४ तीनकन्या माझकुभिण्डे स्थित जुनार नर्सरीमा तयार गरिएको जुनारका बिरुवा ।
सिन्धुली,२९ जेठ – सिन्धुली जिल्लामा पहिलो पटक जुनारको चक्ला वन्दि खेती सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको आर्थिक सहयोगमा गोलन्जोर गाँउपालिका–४ तीनकन्या माझ कुभिण्डेमा खाली रहेको जमिनमा जुनारको चक्ला बन्दि खेती सुरु भएको हो ।
विश्वज्योती जुनार उत्पादन कृषि सहकारी संस्थाले जुनार सुपर जोन कार्यक्रमको समेत आर्थिक सहयोगमा २० हेक्टर जमिनमा उक्त चक्ला बन्दी खेती सुरु गरेको हो । जुनारको पकेट क्षेत्र बनाई खेती प्रणालीमा सजिलो होस भनेर उक्त चक्ला बन्दी खेती सुरु गरिएको सहकारीका अध्यक्ष लोकबहादुर आलेमगरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘चकला बन्दि खेतीमा ५६ जना किसानहरु सहभागि भएका छन् । उनीहरुले आ–आफ्नो खेतबारीमा खाल्टा खनी जुनारका बिरुवा रोप्न सुरु गरेका छन् ।’
[caption id="attachment_96732" align="alignnone" width="960"]
सिन्धुलीको गोलान्जोर गाँउपालिका–४ तीनकन्या माझकुभिण्डे स्थित जुनार नर्सरीमा तयार भएको जुनारका बिरुवा चक्लाबन्दि खेतीमा रोप्न लैजादै किसानहरु ।[/caption]
साबिक तीनकन्या गाविसको वडा नं. ७ मा ५६ जना कृषकले २० हेक्टर जमिनमा छ हजार जुनारका बिरुवा रोपेर चक्ला बन्दी खेती सुरु गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पनि चक्लाबन्दि खेतीलाई प्राथमिकता दिएको छ । त्यसैमा टेकेर हामीले उक्त खेती सुरु गरेका हौं ।’
जुनार सुपरजोन कार्यालयको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत साझेदारी गरी २० लाख रुपियाको लागतमा जुनारको चक्लाबन्दि खेती सुरु गरेको सहकारीका अध्यक्ष आलेमगरले बताउनुभयो । यसले जुनार खेतीको बिस्तार हुने, खेतीमा व्यवसायिकरण हुने र विभिन्न किसिमको रोग किरा निन्यन्त्रण गर्न एकै ठाँउमा एउटै किसिमको प्रविधि अप्नाउन सजिलो भएको उहाँको ठम्याई छ ।
जुनार सुपरजोन कार्यालयका प्राविधिक जहानबहादुर कार्की चक्ला बन्दी खेतीले कुनै निश्चित ठाँउलाई जुनारले मात्रै ढाकेपछि बिषादी छर्किन सजिलो, उत्पादन भएपछि व्यापारीलाई आउन पनि सजिलो हुने बताउनुहुन्छ । चकला बन्दि खेतीमा नयाँ र पुराना किसान सहभागि भएका उहाँले जानकारी दिनुभयो ।
उक्त वडाका अध्यक्ष बेगबहादुर आलेमगर जुनार सुपर जोन कार्यक्रम आएपछि किसानलाई धेरै सजिलो भएको बताउनुहुन्छ । रोग किरा नियन्त्रण, प्राविधिक कुरा सिक्न किसानले पाएको चर्चा गर्दै उहाँले भन्नुभया, ‘चक्ला बन्दी खेतीले किसानलाई झन सजिलो भएको छ ।’
‘किसान आफैले त त्यत्तिकै खेती गरि रहेका थिए भने बिरुवा र खाल्टा खन्दा लागेको लगानीमा आधा पैसा अनुदान पाएका छन्,’ वडा अध्यक्ष मगरले भन्नुभयो, ‘यो वडामा छ सयभन्दा बढी घर धुरीले जुनार खेती गर्दै आएका छन् । बार्षिक दुई करोड रुपियाभन्दा बढी आम्दानी जुनार खेतीबाट वडामा भित्रिदै आएको छ ।’
जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बाशेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।