शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको स्थानीय सरकार योजना छनोट गर्दै

आइतवार , जेठ २५, २०७७

सिन्धुली,२५ जेठ – सिन्धुली जिल्लाका स्थानीय सरकारहरु आगामी आर्थिक वर्ष २०७७ /०७८ को बजेट निर्माणको तयारीमा जुटेका छन् । सातवटा गाँउपालिका र दुईवटा नगरपालिका सहित नौवटै स्थानीय सरकार बजेटको तयारीमा जुटेका हुन् ।

संघीय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानीय तह बजेट निर्माणको तयारीमा छन् । आगामी वर्षका लागि समुदायस्तरबाट योजना छनोटको काम भने यस बर्ष कोरोना भाईरसका कारण स्थानिय सरकारहरुले गर्न पाएका छैनन् । वडाका जनप्रतिनिधि अहिले कोरोनाबाट बच्न साबधानी अपनाउदै आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव संकलन गर्नमा व्यस्त छन् ।

सिन्धुलीको कमलामाई नगरपालिकाले आगामी बर्षको बजेटका लागि वडास्तरबाट योजना छनोट सकिसकेको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । “१४ वटै वडास्तरबाट योजना छनोटको काम सकिएको छ । सबै वडाबाट योजना आईसकेको छ । नगरपालिकाको सबै शाखाबाट पनि योजना मागेका छौं । यस बर्षपनि समयमै बजेट आउछ । राज्यले जुन बिषयमा प्राथमिकता तोकेको छ स्थानिय सरकारको पनि त्यही प्राथमिकता हो । वडाबाट कृषिमा र खानेपानीको योजनाको माग बढी आएको छ । नगरपालिकाको प्राथमिकता पनि यही हो” नगरप्रमुख खत्रीले भन्नु भयो ।

जिल्लाको फिक्कल गाँउपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले कृषि,रोजगारीलाई मुख्य प्राथमिकतमा राखेर गाउपालिकाको आगामी बर्षको निति तथा कार्यक्रम बनाउने तयारी भईरहेको बताउनुभयो ।

“विज्ञहरुसँको छलफल गर्दै निति तथा कार्यक्रम निर्माणको काम भईरहेको छ । अहिलेको कोरोनाले गर्दा वडास्तरबाट योजना छनोटको काम हुन सकेको छैन । त्यो पनि छिट्टै हुन्छ । सबै भन्दा बढी हाम्रो प्राथमिकता भनेको कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य मै हो । फिक्कल खाद्यन्नमा आत्मनिर्भर छैन । अव फिक्कललाई खाद्यन्नमा आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन बृद्धि र रोजगारी सिर्जना मुख्य प्राथमिकता हो” उहाँले भन्नुभयो ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले नगरपालिकाको बजेटको स्रोत सुनिश्चितताको कामहरु भईरहेकाले छिटै बजेटको तयारीमा लाग्ने बताउनुभयो । यी बाहेक, सुनकोशी, गोलन्जोर, घ्याङलेख, मरिण, हरिहरपुरगढी र तिनपाटन गाँउपालिकाले पनि आगामी बर्षको निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरेका छन् ।

प्रतिक्रिया