शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा शुरु भो धान रोप्ने चटारो

आइतवार , जेठ २५, २०७७

सिन्धुली – कोरोना जोखिम हुन नदिन तीन महिनाभन्दा बढी समयदेखि बन्दाबन्दी जारी रहेको छ । गोलन्जोर गाँउपालिका–३ ग्वाल्टार फाँटका किसानलाई खेत जोत्न र धान रोप्न भ्याइनभ्याइ छ । यो बर्ष जेठको दोस्रो सातादेखि नै सो फाँटमा धान रोप्ने चटारो शुरु भएको छ ।

ग्वाल्टार फाँटमा अहिले झण्डै ५० रोपनी जमिनमा रोपाई धमाधम भई रहेको स्थानीय किसान सुदिप कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सँधै रोपाई अलिपछि असार लागेपछि सुरु हुन्थ्यो । यो बर्ष त्यहा तरकारी खेती गर्न जग्गा ठिक पारेको थियो । पानी परेको परै गर्नाले बिरुवा कुहिएर नास भयो । अलिकति व्याड राखेको थियो, व्याड ह्वात्त आयो ।”

बरु चाँडै धान रोपेर दशै अगाडी नै भित्र्याएर जग्गा खाली गरी फेरी तरकारी रोप्ने उद्देश्यले चाँडै रोपाई गरेको उहाँले बताउनुभयो । तरकारी खेती गर्न भाडामा लिजमा लिएको ७० रोपनी जग्गामध्ये अहिले ५० रोपनीमा रोपाई गरेको उहाँको भनाई छ ।

त्यस्तै कमलामाई नगरपालिकाको वडा नं. ३ जलकन्यामा पनि किसानलाई यतिखेर धान रोप्ने चटारो छ । स्थानीय किसान पद्यमनाथ देवकोटा भन्नुहुन्छ, “यो ठाँउमा पोख्रेली र खुमलचार धान जेठ महिनाभित्र रोपी नसके राम्रोसँग फल्दैन । धानको बाला लाग्ने बेलामा चिसोले गर्दा राम्रोसँग पनि दाना लाग्दैन । त्यसैले जेठ महिनाभित्र रोपाई सक्ने चटारो सबैलाई छ ।”

“गँहु बालि भित्र्याएपछि खेत बाँझो बसेको किसानलाई यतिखे रोपाईको चटारो छ,” उहाँले भन्नुभयो, “खेतमा मकै रोपेका किसानले भने असारको तेस्रो सातासम्ममा रोपाई सक्छन । यो बर्ष दैनिकजसो पानी परिरहेकोले किसानलाई रोपाँई गर्न धेरै सजिलो भएको छ । नत्र खडेरीका कारण पानीकै समस्या हुन्थ्यो ।”

लकडाउनका कारण अधिकांस मानिस गाँउ फर्केकोले यो बर्ष खेती लगाउन जनशक्तिको कमी पनि नभएको किसानहरुको भनाई छ । सोही ठाँउका अर्का किसान अच्युतप्रसाद सिग्देल पनि यो बर्ष गाँउघरमा मेलापात गर्न जनशक्तिको कमी नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “नत्र बिगत बर्षमा धान रोप्ने बेलामा श्रमीक नपाएर धरक्कै रुनु पर्दथ्यो । बलिया बाँङगा सबै धेरै धन कमाउने उद्देश्यले गाँउ छाडेर शहर पस्नाले गाँउघरमा श्रमीकको अभाव हुन्थ्यो । लकडाउनको पीडा त छदै छ, तर खेती लाउनलाई सजिलो भएको छ ।”

सिन्धुली जिल्लाको उच्च पहाडी क्षेत्रमा यतिखेर धान रोप्ने चटारो रहेको स्थानीय बासिन्दा बताउछन । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार गत बर्ष १५ हजार तीन सय हेक्टरमा धान खेती गरिएकोमा ४७ हजार ३५१ मेट्रिक्टन उत्पादन भएको थियो । अघिल्लो बर्ष १५ हजार ६१० हेक्टरमा गरिएको धान खेतीबाट ५१ हजार ६८२ मेट्रिक्टन उत्पादन भएको थियो ।

अमेरिक फौ जी किराकै कारण गत बर्ष जिल्लामा धान उत्पादन घटेको उक्त केन्द्रका बागवानी विकास अधिकृत एवं सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त किराले झण्डै ३५ सय हेक्टरमा गरेका धान खेतीमा क्षेती पुर्‍यायो । धानबाली भित्र्याउने बेलामा धानको बाला काटेर अमेरिकन फौजी किराले क्षती पु¥याएको थियो ।”

पछिल्लो पाँच बर्षमा सिन्धुली जिल्लामा धान उत्पादन नघटेको उक्त केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लामा ०७१÷०७२ मा ४१ हजार ९७१ मेट्रिक्टन, ०७२/०७३ मा ४३ हजार ८७ मेट्रिक्टन, ०७३÷०७४ मा ४६ हजार ९६५ मेट्रिक्टन, ०७४/०७५ मा ५१ हजार पाँच सय मेट्रिक्टन र ०७५/०७६ मा ५१ हजार ६१० मेट्रिक्टनधान उत्पादन भएको थियो । जिल्लामा पोख्रेली, साबीत्री, खुमलटार, रामधान, मंसुली लगायतका जानको धान खेती हुदै आएको छ ।

लम्बिँदै गएको बन्दाबन्दीले निर्माण, यातायात क्षेत्रसहित सबै क्षेत्र प्रायः ठप्प भएका बेला जिल्लामा रहेका नागरिक रोपाइँसहित कृषि काममा बढी व्यस्त हुन थालेकोे सुदिप कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रका सबै काम ठप्प छन्, कृषि काम नगरेपछि के खाने भन्ने चिन्ता भएकाले पनि किसान अहिले कृषि क्षेत्रमा व्यस्त हुने गरेका छन् ।” विगतको समयमा बाँझो रहेका यहाँका खेतीयोग्य जमिनमा तरकारी तथा रोपाइँ हुन थालेपछि गाउँघरमा हरियाली हुनुका साथै बाँझो जमिन क्रमिकरूपमा साग, तरकारीलगायतका खेतीले हराभरा हुन थालेका छन् ।

प्रतिक्रिया