सिन्धुली,२२ जेठ – सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ बर्षिय एक पुरुषमा कोरोना सं क्रमण भएको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आई उक्त क्वारेन्टीनमा बस्दै आएका ती व्यक्तिको बुधबार बाग्मती प्रादेशीक अस्पताल हेटौंडामा पिसिआर विधिबाट स्वाब परिक्षणका क्रममा नतिजा कोरोना पोजेटिभ आएको हो ।
ती व्यक्तिसँगै १२२ जनाको स्वाब संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न हेटौडा पठाईएकोमा बुधबार ६९ जनाको नतिजा आएको र ६८ जनाको नतिजा निगेटिभ आएको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।
उहाँले सं क्रमित व्यक्तिलाई सिन्धुली अस्पतालको आईसोलेन्समा भर्नाका लागि ल्याउने तयारी भई रहेको पनि बताउनुभयो ।
कमलामाई नगरपालिका वडा नं. १४ का अध्यक्ष जितलाल अधिकारी दनुवारका अनुसार चन्दनपुर मावि क्वारेन्टीनमा संक्रमित व्यक्तिसँगै भारतबाट आएका ४४ जना बस्दै आएका थिए । ४४ जनाको स्वाब सङकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न हेटौंडा पठाइएकोमा ४३ जनाको नतिजा निगेटिभ आएको छ । संक्रमित व्यक्ति सोही वडाका बासिन्दा रहेको र उहाँ १० दिनअघि भारतबाट आएर सिधै क्वारेन्टीनमा बस्दै आएको पनि वडा अध्यक्ष अधिकारी दनुवारले सुनाउनुभयो ।
चन्दनपुर मावि क्वारेन्टीनमा भारतबाट पछि आएका समेत अहिले ४८ जना बस्दै आएका र पिसिआर रिपोर्ट निगेटिभ आएका सबैलाई प्रमाणपत्र दिएर घर पठाउने तयारी भई रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार यसअघि सिन्धुली स्थायी ठेगाना भई काठमाडौँ बस्ने एक २७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको थियो । कमलामाई नगरपालिकामा हालसालै भारतबाट आएका थप ७१ जनाको स्वाब संकलन गरिएको छ ।
नगरपालिकामा भारतबाट आई क्वारेन्टीनमा बस्ने ११५ जनाको स्वाब संकलन गरेर यस अघि नै पठाईएको थियो । पहिले ५१ जना र पछि ७१ जना गरि १२२ जनाको स्वाब संकलन गरी पठाईएकोमा ६९ जनाको परिक्षण सकिएको पनि मन्त्रालयले जनाएको छ ।