शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको तीनपाटनमा धान काट्ने चटारो

बिहिवार , जेठ २२, २०७७

सिन्धुली,२२ जेठ – यतिबेला सिन्धुलीको तीनपाटनका किसानहरु हिउदे धान काट्ने तयारी जुटेका छन् । यहाँका अधिकांश खेतमा धान पहेँलपुर भइसकेको छ । भरेभोलि धान काट्ने योजनामा कृषकहरु छन् । कोरोना कहरका कारण सरकारले गरेको लकडाउन तीनपाटनका स्थानीयको लागि भने खेतीपातीमा बित्ने सन्जोग जस्तो बन्न पुगेको छ ।

सदरमुकाममा विभिन्न व्यवसायमा आबद्ध तीनपाटनका स्थानीयहरु अहिले आफ्नो गाउँ फर्किसकेका छन । तीनपाटन गाउँपालिकाको वडा नम्बर १० र ११ मा रहेका फाँटैभरी अहिले पहेलपुर धान झुलेको देखिन्छ । तीनपाटका स्थानीय स्थानीय दिपेन्द्र कार्कीले भन्नु भयो, “यसरी लगाइएको बाली जेठमा भित्र्याइन्छ ।” लकडाउन छल्न उहाँ परिबारसहित यसै साता गाउँ पुग्नु भएको हो । कार्कीले सदरमुकाममा कोरोनाको त्रासमा बस्नुभन्दा गाउँको खेतीपाती नै उचित भएको बताउनु भयो ।

तीनपाटनकै अर्का स्थानीय राजन कार्कीले भन्नु भयो, “तीनपाटनमा खोलाको छेउछाउका फाँटहरुमा पनि तीन बाली खेतीपाती हुन्छ । तीनपाटनमा मुख्य गरेर हिउँदे धान, बर्खे धान र गहुँको खेती हुन्छ ।”

अहिले खेतमा पाकेको धान स्थानीय कृषकले चैतमा रोपेका हुन् । त्यहाँ तोरी वा मुसुरो पनि लगाउने गरिन्छ । पाकेको बर्खे धान जेठ अन्तिम र असार भित्रमा घरमा भित्र्याउने गरिन्छ । फेरि कृषकहरुले असारमा अर्को धान रोप्ने गर्छन । यसरी रोपिएको धान कार्तिक र मंसिर महिनामा पाक्छ । मङ्सिर महिनामै तीनपाटनका कृषकहरुले तोरी वा गहुँ लगाउने गर्छन । केही कृषकले मुसुरो पनि लगाउँछन् ।

स्थानीयका अनुसार बर्षभरी ३ बाली हुने हुने तीनपाटनमा स्थानीयको जिउने मुख्य आधार नै कृषि हो । सरकारले समयमै किसानहरुलाई मल, बिउ, प्रविधि र प्राविधिक सहयोग गर्न सके किसानहरु बढी लाभान्वित हुनेछन् ।

जिल्लाका कतिपय ठाउँमा गाउँ फर्केका स्थानीयले खेतबारी खनजोत गरी कोरोना प्रकोप छल्दैछन । किसानलाई धानबाली लगाउन र भित्र्याउन लकडाउनले कुनै रोकावट नगर्ने मन्त्रिपरिषद बैठकले पनि निर्णय गरेको छ । बाली लगाउन कुनै अप्ठेरो नभए पनि मल लगायत आवश्यक सामग्री खरिदमा समस्या थपिएको किसानहरुको गुनासो छ ।

यसपटक समयमै पर्याप्त वर्षा भएकाले सदरमुकामका कृषकहरु पनि धानको बिउ राख्न ब्यस्त देखिन्छन । जेठको अन्तिमतिरबाट धान रोप्ने उनीहरु योजना छ ।

प्रतिक्रिया