शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

तन परदेशमा भएपनि मन सल्यानमै, बुवाको नाममा ३५ हजार सहयोग

बुधवार , जेठ २१, २०७७

सल्यान– अमेरिकाको पिट्स्बर्गमा रहनुभएको कल्पना राई र राजु गुरुङको तन परदेशमा भएपनि मन भने सल्यानमै छ । सल्यानको शारदा नगरपालिका ३ मा बसोबास गर्दै आउनु भएको कल्पना राई र उहाँको पति हाल संयुक्त राज्य अमेरिकामा भएपनि स्वदेशमा सामाजिक उत्तरदायित्व निभाइरहनुभएको छ । त्यसैले त उहाँहरुले सल्यानमा रहेको एमएम एकेडेमि विद्यालयमा ३५ हजार रुपैँया सहयोग गर्नुभएको छ । वि.सं २०५९ सालमा स्थापना भएको उक्त विद्यालयमा ७ वर्ष अध्यापन गराएको राई दम्पत्तिले स्वर्गिय बुवा डिल्लि बहादुर राईको नाममा ३५ हजारको छात्रवृत्ति कोष खडा गर्नुभएको हो । साथै, उहाँहरुले हरेक वर्ष सोहि रकम बराबर कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

विद्यालयको हरेक गतिविधि नजिकबाट हेर्ने अवसर मिलेको बताउँदै राई दम्पत्तिले विद्यालयको अध्यक्ष महेश देवकोटा र कर्मचारीको व्यवस्थापन कार्यकौशलताले सल्यानको शिक्षा क्षेत्रमा सुधार देखिरहेको हुनाले विद्यालयको सर्वाङिगन विकासकालागि सहयोग गरेको बताउनुभयो । उहाँहरुले भन्नुभयो, ‘हाम्रो स्वर्गिय बुवा डिल्ली बहादुर राईको सम्झनामा २०७७ साल देखि लागुहुनेगरि हरेक वर्ष ३५ हजार गरिव तथा जेहेन्दार विद्यार्थीकालागि छावृत्ति स्वरुप एमएम एकेडेमिलाई उपलब्ध गराउने घोषणा गर्दछौँ ।’

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकोटाले राई दम्पत्तिको सहयोगलाई स्विकार्दै धन्यवाद व्यक्त गर्नुभएको छ । देवकोटाले विदेशमा रहेर पनि जन्मथलोको शिक्षा क्षेत्रमा राई दम्पत्तिले गर्नुभएको सहयोगले आफूहरुलाई थप हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ ।’

हाल ४ सय ५० विद्यार्थी रहेको एमएम एकेडेमि सल्यान जिल्लाकै उत्कृष्ठ विद्यालय रहेको अभिभावकले बताएका छन् । संचालक समिति र विद्यालयको कर्मचारीले थोरै श्रोत, साधनको बाबजुद गुणस्तरीय शिक्षा दिन तत्पर रहेको सरोकारवाला निकायले बताएका छन् । विद्यालयले लकडाउनको समयमा विद्यार्थी र अभिभावकसँग जोडिनकालागि विभिन्न अनलाइन प्रशिक्षण कार्यक्रमहरु संचालनमा ल्याएको छ ।सोमबार मात्रै पनि विद्यालयले मोटिभेषनल स्पिकर रवि किरणमार्फत विद्यार्थीलाई उत्प्रेरणा कक्षा संचालन गरेको थियो ।

प्रतिक्रिया