सिन्धुली,१५ जेठ – सिन्धुली जिल्लाको कमलमाई नगरपालिका–४ मा ‘सिन्धुली एग्रो प्रालि’ को नाममा रहेको खेत दुई बर्षसम्म बाँझै बसेपछि खेत बिग्रियो भन्दै किसानले गुनासो गरेका छन् ।
स्थानीय किसानका अनुसार संघिय सांसद हरिबोल गजुरेलको नेतृत्वमा करिब दुई बर्षअघि चुवाबोटे, हिरापानी र मल्लागाँउ क्षेत्रमा किसानको करिब २५ बिघा खेतमा आधुनिक कृषि फर्म सञ्चालन गर्ने भन्दै उक्त प्रालिले १२ बर्षका लागि लिजमा सम्झौता गरेको थियो ।
सरकारले नै खेती योग्य जमिन बाँझै राख्नेलाई कारबाही गर्ने बताई रहेको बेला त्यही सरकारमा संलग्न पार्टीको नेता गजुरेलको नेतृत्वमा लिजमा लिएको किसानको जग्गा बाँझै बसेको हो ।
प्रति कठ्ठा बार्षिक छ हजार रुपैयाका दरले भाडा उपलब्ध गराउने र प्रत्येक दुई बर्षमा १० प्रतिशतका दरले भाडा बृद्धि गर्ने सम्झौता भएपनि अहिले उक्त रकम समेत नपाएको किसानको दुःखेसो छ ।
आधुनिक कृषि फर्म सञ्चालन गर्ने नाममा दुई बर्षसम्म आफ्नो खेत बाँझै बसेपछि दुःख लागेको मल्लागाँउ निवासी किसान ज्ञानबहादुर कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यतिखेर खेतमा लोभलाग्दो मकै बाली हुनु पर्नेमा सिरु झार उम्रेर बसेको छ । बाँझै बस्दा अर्कातीर माटोको उर्बराशक्ति समेत घट्ने भयो ।”
हिरापानीका किसान संजीब कार्की सिन्धुली एग्रो प्रालिले जग्गाधनीसँग सम्झौता गर्ने क्रममा प्रत्येक बर्षको मंसिरमा अग्रिम जग्गाको भाडा एक मुष्ट किसानको खातामा हालिदिने बताएपनि यो बर्ष धेरै किसानले अहिलेसम्म भाडा पनि नपाएको गुनसो गर्नुभयो ।
उक्त प्रालिलाई किसानको गुनासो सम्बोधन र समस्या समाधान गर्न यही जेठ १५ गतेसम्म समयसिमा दिएको जानकारी दिदै उहाँले भन्नुभयो, “त्यती बेलासम्म सुनुवाई भएन भने जेठ १६ गतेदेखि धानको बिरु राखेर आफ्नो खेत आफै रोप्ने तयारी किसानको छ ।”
स्थानीय किसानका अनुसार सांसद हरिबोल गजुरेलकै नेतृत्वमा जग्गाधनीहरुको लालपुर्जा संकलन गरी सम्झौता भएकाले स्थानीयस्तरमा उक्त खेत हरिबोलको भनेर परिचित हुदै गएको छ । ५६ जना किसानको लालपुर्जा संकलन गरी उक्त प्रालिले लगेको छ ।
उक्त जग्गामध्ये थोरै क्षेत्रफल जमिनमा भने यो बर्ष मकै र तरकारी खेती गरिएको स्थानीय किसान बताउछन् । अधिकांस खेत बाँझै भएकोले किसानलाई दिने भाडा कहाँबाट आउछ ? भन्ने चर्चा समेत किसानले गरेका छन् ।
अर्का स्थानीय एक किसान भन्छन्, “हामीले बुझेको त्यही जमिनमा खेती गरेर आम्दानी लिई किसानलाई सम्झौता अनुसारको भाडा दिनु पर्ने हो । सबै खेत बाँझै छ, भाडा कहाँबाट आउछ ?” किसानको लालपुर्जा बुझाएर राज्यबाट पाईने सुविधा सिन्धुली एग्रो प्रालि सञ्चालकले खाएको तीनै किसानको बुझाई छ ।
सम्झौता गर्दा कुनै समस्या आयो भने अथवा कसैलाई रोजगारी दिनु पर्यो भने दुबै पक्षको समझ्दारीमा गर्ने भनिएको भएपनि अहिले उक्त प्रालिले मिचेर काम गर्दै गएको जग्गाधनी कृष्णबहादुर कार्की बताउनुहुन्छ ।
यस सम्बन्धमा बुझ्न संघिय सांसद गजुरेलसँग फोन सम्पर्क गर्दा आफुले भेटेरै गफ गर्ने बताउनुभयो ।