गोलाञ्जोर,(सिन्धुली) – सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका वडा नं. ४, ५ र ६ को सिमानामा रहेको गोलन्जोर डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै लगिएको छ ।
जिल्लाकै दोस्रो अग्लो डाँडाको रुपमा रहेको गोलन्जोरलाई गाँउपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आम्दानीको मुख्य स्रोत बनाउन लागेको हो । अहिले गोलन्जोर डाँडामा गाँउपालिकाको लगानीमा चार तलाको भ्युटावर निर्माण सम्पन्न हुनुका साथै भ्युटावरसम्म पुग्न स्टीलको रेलिङ हालेर सिंढी निर्माणको तयारी गरिएको छ ।
स्थानीयका अनुसार गोलाञ्जोर डाँडामा ८६ लाख रुपियाको लागतमा भ्युटावर निर्माण गरिएको छ । निर्माण कार्यमा खटिनु भएका प्राविधिक (ओभरसियर) निराजन बस्नेतका अनुसार भ्युटावर निर्माणका लागि गत आर्थिक बर्ष ०७५/०७६ मा एक करोड चार लाख रुपियामा टेण्डर भएकोमा ८६ लाख रुपैयामा तमाङ मरिण कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।
“नौँ महिनामा निर्माणको काम सक्ने गरी सम्झौता भएकोमा सुरुको छ महिना जति कामै हुन सकेन,” उहाँले भन्नुभयो, “तोकिएको समयमा काम नसकिएपछि तीन महिना म्याद थपिएको थियो । अहिले सबै काम सकिएको अवस्था छ ।”
लामीडाँडा भन्ज्याङ हुदै गोलन्जोर डाँडा जाने करिब तीन किलोमिटर पैदल बाटोमा ७५ लाख रुपैयाको लागतमा रेलिङ हाल्ने काम भर्खरै सम्पन्न भएको छ । रेलिङ हालेको उक्त बाटोमा ट्रेकिङका लागि सिंढी बनाउने योजना गाँउपालिकाले बनाएको स्थानीय शिक्षक लेखबहादुर बस्नेतले जानकारी दिनुभयो ।
गोलन्जोर डाँडामा भ्युटावर निर्माण र त्यहा जाने बाटोमा रेलिङ हालेसँगै मानिसको चहलपहल बढ्दै गएको पनि उहाँले सुनाउनुभयो । शिक्षक बस्नेतले भन्नुभयो, ‘गोलन्जोर डाँडाबाट आकास खुलेको समयमा तराईका फाँट, हिमाल छर्लङग देखिने भएकोले मानिसको चहल पहल बढेको हो । पिकनिक खान आउनेको संख्या पनि बढ्दै गएको ।’
झन् गुराँस फुल्ने मौसममा त गोलन्जोर डाँडा बेहुली झै सिंघारिएको जस्ते देखिने उहाँको अनुभव छ । गोलन्जोर डाँडामा काफल र ऐसेलु जस्ता फल प्रशस्त पाउनुका साथै विभिन्न जडिबुटीको खानी नै रहेको छ । गोलन्जोर डाँडामा नौ वटा पोखरी पनि रहेका छन् । उक्त पोखरी धेरै पहिले बनाएको र कस्ले बनाएको भनेर खोज्दै जाँदा एक जना बाहुनी लुईटेल्नी बज्यैले भन्नेसम्म पत्ता लागेको स्थानीय शिक्षक बस्नेतले सुनाउनुभयो ।
उहाँका अनुसार उक्त डाँडामा महाकालीको मन्दिर र त्यो भन्दा अलितल गोलन्जोर ठाकुरको पनि मन्दिर रहेको छ । महाकाली मन्दिरमा पहिले पहिले क्रोजागत पूर्णिमाको रात मेला (जात्रा) लाग्दथ्यो । तर मन्दिर भत्किएर जीर्ण बनेसँगै अहिले मेला भने लाग्न छाडेको छ ।
बहुबर्षे आयोजना अन्र्तगत निर्माण भइरहेको टावरले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने लक्ष्य राखिएको स्थानियले बताएका छन् । भ्युटावर निर्माणसँगै गोलान्जोर डाँडा आन्तरिक तथा बाहिय पर्यटकका लागि आकर्षक स्थलको रुपमा विकसित भएको पनि उनीहरुको भनाई छ ।
गोलान्जोर डाँडा दृष्याबलोकनका लागि ज्यादै उपयुक्त रहेकोले गाँउपालिकाले भ्युटावर निर्माण गरेको स्थानीय शिक्षक बस्नेत बताउनुहुन्छ । “अहिलेसम्म चार तला बनेको छ, तला थप्दै जाने योजना छ’ उहाँले भन्नुभयो, ‘गोलान्जोर डाँडामा ठूलो टार छ । त्यहाँबाट तराई र हिमालको ठूलो भूभाग देख्न सकिन्छ ।”