शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

ल’कडाउनकै बिच सिन्धुली अस्पतालमा एपिन्डिक्सको शल्यक्रिया

शनिवार , बैशाख २७, २०७७

सिन्धुली,२७ बैशाख – कमलामाई नगरपालिका ४ ढकालगाउँका हिरा बहादुर बस्नेतलाई शनिबार एकाएक पेट दुख्न शुरु भयो । १५ वर्षिया बस्नेतलाई खपिनसक्नु भएपछि परिवारले सिन्धुली जिल्ला अस्पताल ल्याए । अस्पतालमा चेकजाँच गर्दा बस्नेतलाई एपिन्डिक्स भएको डाक्टरले निश्कर्ष निकाले । लकडाउनको समयमा हिरा बहादुरको अप्रेशन गर्न कहाँ लग्ने, के गर्ने परिवारलाई मुश्किल भयो । तर, तीन महिना अघिदेखि सिन्धुली जिल्ला अस्पतालमा नै एपिन्डिक्सको अप्रेसन शुरु भएकाले बस्नेतको अप्रेसन सिन्धुलीमै हुने भयो । आर्थिक हिसाबले कमजोर बस्नेत परिवारलाई पैसा जोह गर्न मुश्किल थियो । अस्पतालले ५० प्रतिशत शुल्क मिनाहा गर्ने भएपछि परिवारले बाँकी ७ हजार पाँच सय रुपैँया मिलाए । अप्रेशन शुरु भयो र बस्नेतको एपिन्डिक्स हटाइयो । जिल्ला अस्पतालमै अप्रेशन भएपछि बस्नेत परिवार खुशी देखिएको छ ।

सर्जन डा. प्रशन्न राजभण्डारी र डा. राजीब श्रेष्ठ, एनेस्थेसियाका सुनिल यादव र नर्सहरु रामेश्वरी खयामाली र सोभा दुवालको टिमले एपिन्डिक्सको सफल सल्यक्रिया गरेको अस्पताल व्यवस्थापक विमल श्रेष्ठले सिन्धुली सौगातलाई जानकारी दिनुभयो । हालसम्म सिन्धुली अस्पतालमा बस्नेत सहित तीन जनाको एपिन्डिक्सको अप्रेशन गरिएको श्रेष्ठले बताउनुभयो । जिल्ला अस्पतालमा एपिन्डिक्सको अप्रेशन नहुँदा विगतका दिनमा प्राय बिरामी धुलिखेल वा काठमाडौँ जाने गर्दथे ।

अहिले भने सिन्धुलीमै अप्रेशन हुने भएपछि एपिन्डिक्सका बिरामीहरुलाई केहि हदसम्म राहत पुगेको छ । बाहिर जिल्ला अप्रेशन जानु परेको खण्डमा बिरामीको तीस देखि चालिस हजार खर्च हुने गर्दथ्यो । यातायातको खर्च, अप्रेशन खर्च देखि बस्ने खर्चले गर्दा खर्च बढ्ने गर्दथ्यो । तर, अहिले जिल्ला अस्पतालमै एपिन्डिक्सको अप्रेसन हुने भएपछि स्थानिय खुशी भएका छन् । अप्रेशन शुल्क १५ हजार रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा हर्निया, हाइड्रोसिल, शल्य प्रसव (सिजेरियन सेक्सनः अप्रेशन गरि सुत्केरी) र आङ खस्नेको शल्यक्रिया निशुल्क भइरहेको छ ।

लकडाउनमा ३१ जनाको शल्यक्रिया

गत चैत्र १० बाट शुरु भएको लकडाउनपछि जिल्ला अस्पताल सिन्धुलीमा हालसम्म ३१ जनाको शल्यक्रिया गरिएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनपछि शल्य प्रसवको ३० वटा र एउटा एपिन्डिक्सको शल्यक्रिया भएको छ ।’ त्यसैगरि, १३० जनाको सामान्य सुत्केरी गरिएको श्रेष्ठले जानकारी दिनुभयो । छ महिना अवधिमा सिन्धुली अस्पतालमा ११० जनाको अप्रेशन गरि बच्चा निकालिएको छ ।

प्रतिक्रिया