मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाँउपालिका धमीलेमा कालोपत्रे गर्न बेस मिलाईदै ।
सिन्धुली, ,१९ बैशाख लकडाउनका कारण एक महिनाभन्दा बढी समयदेखि रोकिएको राष्ट्रिय गौरबको आयोजना निर्माणधीन मदन भण्डारी लोकमार्गको काम सुरु भएको छ ।
कोरोना भा’ईरसको सं’क्रमण फै’लिनबाट बच्न सा’वधानी अपनाउदै सिन्धुली खण्डमा निर्माणको काम सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटौडा (मदन भण्डारी लोकमार्ग) सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई जोड्ने २५० किलोमिटर लोकमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । लकडाउनका कारण रोकिएको पुर्वी खण्ड अन्तर्गत सिन्धुली जिल्लाभित्र मात्रै काम सुरु गरिएको हो ।
मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना प्रमुख अर्जुन अर्यालले अहिले बागमती पुलदेखि सिन्धुलीमाढीसम्म चार ठाँउमा काम सुचारु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कामदारको सामाजिक दुरी कायम गरेर, बस्ने क्याम्प भन्दा बाहिर नगएर र स्वा'ब टेष्ट गरेर काम सुरु गर्दैछौं ।”
“बागमती पुलमा ३६ जना र अनक पुलमा २० जना जती जम्मा गरेर काम गर्न खोज्दै छौं,” उहाँले भन्नुभयो, “बागमती पुलदेखि सिन्धुलीमाढीसम्म पाँच वटा पुलको काम गर्न खोज्दै छौं ।” उहाँका अनुसार पश्चिम खण्ड अन्तर्गत ११५ किलोमिटर लम्बाई सडक र ३३ वटा पुल रहेका छन् । पश्चिम खण्ड अन्तर्गत सडक निर्माण तर्फ ७५ प्रतिशत र पुल निर्माण तर्फ ९० प्रतिशत काम सकिएको छ ।
“पछिल्लो समयमा सडक निर्माणको काम तीब्र गतीमा भई रहेको थियो । उपलब्ध भएको साईड जेठमाहिना भित्र सक्ने लक्ष्य थियो,“ आयोजना प्रमुख अर्यालले भन्नुभयो, “लकडाउनका कारण काम रोकियो । काम गर्न फिल्ड दिन सके अझै छ महिनाभित्र सबै काम सकिन्छ ।” मुआब्जा विवादकै कारण खट्टारदेखि सिन्धुलीमाढीसम्म छ किलोमिटर सडक निर्माणका लागि ठेकेदारलाई फिल्ड दिन नसकेको उहाँले सुनाउनुभयो ।
उता १३५ किलोमिटर लामो पूर्वी खण्डमा पनि लकडाउनका कारण रोकिएको काम सिन्धुली जिल्लामा मात्रै सुरु गरेको सडक आयोजनाले जनाएको छ । सडक आयोजनाका पूर्वी खण्डका ईन्जिनियर मनिष पोख्रेलले लकडाउनका कारण रोकिएको सडक निर्माणको काम सुरु गरिएको बताउनुभयो ।
आयोजनाको पुर्वी खण्ड अन्तर्गत सिन्धुली जिल्लामा मात्रै निर्माणको काम सुरु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “बर्षात नजिकिदै छ । बन्दा बन्दै अवस्थामा रोकिएका कामहरु बर्षातले विग्रन सक्ने भएकाले क्षति गर्न नदिन मात्रै काम सुरु गरेका हौं ।” पूर्वी खण्डमा कमला नदीमा पुल निर्माण, झुंगामा सडक कालोपत्रे र डकाहामा रिटेनिङ वाल निर्माणको काम सुरु भएको ईन्जिनियर पोख्रेलले जानकारी दिनुभयो ।
बर्षातले क्षति गर्न नदिनका लागि मात्रै काम सुरु गरिएको उहाँले बताउनुभयो । सामाग्री र कामदार अभावमा पहिलकै तुलनामा काम हुन नसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटरलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडा उप महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटरलाई पश्चिम खण्डमा बाँडेर काम भइरहेको थियो ।
०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ । तर विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण देश लकडाउन भएपछि निर्धारित समयमा सक्न मुस्किल देखिएको उहाँको भनाई छ ।
सडक आयोजनाको पूर्वी खण्डमा पनि सडक तर्फ ७५ प्रतिशत र पुल तर्फ ९२ प्रतिशत काम सम्पन्न भएको उहाँको ईन्जिनियर पोख्रेलले जानकारी दिनुभयो । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ । उक्त लोकमार्गको चौडाइ ३० मिटर रहनेछ ।