शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लकडाउनमा पनि सिन्धुलीको बीपी राजमार्गमा यातायातका साधनको लर्को

शनिवार , बैशाख १३, २०७७

सिन्धुली,१३ बैशाख – कोरोना भा’ईरसको संक्रमण नियन्त्रण गर्न घोषणा गरिएको लकडाउनको समयमा बीपी राजमार्गमा भने यात्रुबाहक बस र मालबाहक ट्रकको चाप बढ्दै गएको छ ।

बीपी राजमार्गमा दैनिक रुपमा बढ्दै गएको यात्रुबाहक बस, मालबाहक ट्रक र चार पांग्रे सबारी साधनको चापले लकडाउनको समयमा घरमै बसी रहेका सर्बसाधारणलाई भने मुलुक सामान्य अवस्थामा फर्किएको महसुस हुदै गएको छ ।

तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने १६० किलो मिटर लामो बीपी राजमार्गमा सबारी साधनको चाप दैनिक बढ्दै गएको कमलामाई नगरपालिका –४ निवाासी शिक्षक कर्णबहादुर कार्की बताउनुहुन्छ ।

‘

कोरोना भा’ईरसको त्रासले सरकारले घोषणा गरेको लकडाउनलाई पालना गरी हामी चाहि घरमै बसि रहेको छौं’, उहाँले भन्नुभयो, ‘तर घरमुनी रहको बीपी राजमार्गमा भने बस, ट्रक र अन्य सबारी साधनको भने लर्को नै छ ।’

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भा’ईरसको रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नु पर्ने र यसलाई ख्याल ख्यालको रुपमा हेरिनु नहुने उहाँको भनाई छ ।

स्थानीयका अनुसार अहिले बीपी राजमार्गमा राजधानी काठमाण्डौमा अलपत्र परेको व्यक्तिलाई उद्धार गरेको भन्दै बढ्दो रुपमा सबारी साधन दौडने गरेका छन् । तराईका विभिन्न जिल्ला सहित पूर्वी नेपालको भोजपुर, धनकुटा, ताप्लेजुङ, ईलाम, झापा लगायतको जिल्ला जाने बसहरु सिर्जभ लेखेको प्लेट देखाएर हिड्ने गरेको पाईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली अनुसार त्यसरी काठमाडँौबाट यात्रु लिएर आएका बस तथा अन्य सवारी साधनलाई पास(अनुमतिपत्र) हेरेर चेकजाँच गरी छाड्ने गरिएको छ । कार्यालयका एक प्रहरीले नाम उल्लेख नगर्न अनुरोध गर्दै भन्नुभयो, “अहिले घेरै गाडी दौडी रहेका छन् । ती गाडी मध्ये कसैले स्थानीय तहको त कसैले जिल्ला प्रशासन कार्यालयले दिएको पास बोकेका छन् ।”

“दुई थरी पासका कारण हामीलाई पनि समस्या भएको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले स्थानीय तहको पासलाई मान्यता नदिनु भनी परिपत्र गरेको छ । तर बीपी राजमार्गमा गुड्ने बसहरु भने स्थानीय तहको पास बोकेर आई रहेका छन् । पास नभएका सबारी साधन पनि यात्रु बोकेर आई रहेका र त्यस्तालाई फर्काई दिने गरेका छौं ।”

यता सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने देशभरीका स्थानीय तहको समन्वयमा काठमाण्डौमा अलपत्र परेका नागरिकको उद्धार गर्ने भनेकोले बीपी राजमार्गमा गाडीको संख्या बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको समन्वय गरी ल्याएको गाडीमा चेकजाँच गरी कडाई गर्दा फेरी असहयोग गर्‍यो भन्छन् । अलि अप्ठेरो नै छ ।’

प्रतिक्रिया