सिन्धुली,९ बैशाख – कोरोना भा’ईरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरी एक गाँउपालिकाबाट अर्को गाँउपालिकामा जान पनि रोकेको बेला सिन्धुलीको सुनकोसी गाँउपालिका–१ दुम्जाबाट भने करिव चार हजार पैदल यात्रीको उ’द्धार गरि गन्तव्यतर्फ पठाइएको छ ।
सुनकोसी गाँउपालिकाका अनुसार चैत ११ गते लकडाउन घोषणा गरेपछि राजधानी काठमाडौंमा मजदुर पेशा गर्ने आठ हजार बढी पैदल यात्री सिन्धुलीहुदै तराईका विभिन्न जिल्लामा गएका छन् । कोरोना भा’इरसका कारण देश लकडाउन गरिएपछि काठमाडौं सहित विभिन्न जिल्लामा मजदुरी गर्दै आएका करिब आठ हजार मजदुर विपी राजमार्ग हुदै पैदल हिडेर घर फर्किएका छन् ।
जसमध्ये हालसम्म तीन हजारलाई सुनकोसी गाँउपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, बाग्मती प्रदेश सदस्य राजन दाहाल र प्रहरी चौकी दुम्जाको सक्रियतामा गाडीको व्यवस्था गरि गन्तव्यतर्फ पठाइएको प्रहरी चौकी दुम्जाले जनाएको छ ।
“बीपी राजमार्ग हुदै प्रहरी चौकी दुम्जा कटेर सिन्धुली तर्फ जाने पैदल यात्रु सबैलाई हामीले गाडीको व्यवस्था गरि पठाएका छौँ, प्रहरी चौकी दुम्जाका सई रविन्द्र खड्काले भन्नुभयो, “सडकमार्ग बाहेक अन्य विभिन्न स्थानबाट पैदल हिड्ने यात्रुको तथ्यां यहाँ राखिएको छैन ।”
काठमाडौंबाट बनेपा–सिन्धुली–बर्दिवास (विपि) राजमार्ग हुँदै पैदल घर फर्किएका यात्रुलाई सुनकोसी गाँउपालिका र गोलञ्जोर गाँउपालिकाले निरन्तर उद्धार गरिरहेका छन् । सडकमार्ग बाहेक गोरेटोबाटो पहिचान गरि हिड्नेहरु पैदललै हिडेर सिन्धुली सदरमुकामबाट बाहिरीएका छन् ।
“खुट्टा सुनियाएर दुई दिन तीन दिन हिडेर भोकभोकै यहाँसम्म आइपुगेर दुःखेसो पोखेका मजदुरलाई स्वास्थ्य परिक्षण गरि हामीले उद्धार गरेका हौ,” सई खड्काले भन्नुभयो, “गत चैत ११ गतेदेखि लकडाउन भएर पैदल आएपनि हामीले चैत १५ गतेदेखिको मात्रै उद्धार गरेका यात्रुको तथ्यांक राखेका छौ ।”
कोरोना भा’इरसको रोकथाम गर्नका लागि सरकारले देश लकडाउन गरेसँगै खाद्यन्न र खर्चको अभाव भएपछि मजदुरहरु दैनिक हिडेर घर फर्कनेक्रम जारी रहेको छ । एक दिनमा मात्रै दुई सय जना भन्दा बढी पैदल यात्रु आएको सुनकोसी गाँउपालिकाकी प्रमुख दिपा बोहोराले बताउनुभयो । “दुम्जा प्रहरी चौकी हुदै पैदल आएका पैदल यात्रुको तथ्याङक मात्रै प्रहरीले राखेको हो । रामेछाको मुल्कोट, खैरेनीघाट लगायतका स्थानबाट पैदल आउनेका तथ्याङक राखिएको छैन । त्यो गाँउपालिकाले राखेको छ करिब सात हजार बढी पैदल यात्रुले सिन्धुलीहुदै कटेका छन्,” उहाँले भन्नुभयो ।
बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग हुँदै पैदल यात्रा गर्नेहरूको उद्दारमा जनप्रतिनिधिहरु सक्रिय भएका छन् ।
मध्यपहाडी लोकमार्ग र बीपी राजमार्गमा पैदल यात्रा गर्ने झण्डै एक हजार बढी श्रमिकलाई खाना र गाडीको व्यवस्थापन गरेर उद्दार गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे काठमाडौं सहित विभिन्न जिल्लाबाट पैदल आउने क्रम नरोकिएको बताउनुहुन्छ । “पैदलयात्रु दैनिक हुलका हुल आइराखेका छन्, सबैलाई सिन्धुलीमा व्यवस्थापन गर्न सक्ने अवस्था छैन,” उहाँको भनाई थियो ।
काठमाण्डौबाट हिडेरै तराईका विभिन्न जिल्ला घर फर्कने लक्ष्य राखेर १६० किलोमिटर भन्दा बढी हिडेर सिन्धुली आएका कतिपय यात्रुलाई सिन्धुलीबाट समेत उद्धार गरिएको छ । बीपी राजमार्गको बाटो पैदल यात्रा गर्नेलाई समेत छोटो दुरीको हुने भएकाले तराईका यात्रुहरुले सिन्धुलीको बाटो प्रयोग गरेको स्थानिय बताउछन् । ।
‘दैनिकजसो हुलका हुल पैदलनै आएका हुन्छन्, कतिलाई गाडीको व्यवस्था गर्ने,’ उहाँले थप्नुभयो, “सिन्धुली बिचमा पर्ने जिल्ला भएकाले समस्या भएको छ ।”
उहाँले भन्नुभयो, “दैनिक सयौको संख्यामा पैदलयात्री आउछन् । यहाँसम्म आएका यात्रुलाई फर्काएर थप दुःख दिन मिल्दैन, त्यसैले सकेसम्म यहाँबाट गाडीको व्यवस्था गरि पठाएका छौ ।”
सुनकोसी गाँउपालिका अध्यक्ष बोहोराका अनुसार सिन्धुली प्रबेश गर्ने सबै पैदल यात्रुको थर्मल गनबाट तापक्रम जाचेर मात्रै प्रबेश गराइएको छ । “यहाँसम्म आएका पैदल यात्रुलाई खानाको समेत व्यवस्था गरि पठाएका छौ । कति दिनदेखि भोकभोकै आएका हुन्छन् ।” उहाँले सबै पैदल यात्रुको तथ्याङक राख्न नसकेको बताउनुभयो ।