सिन्धुली,५ बैशाख – सिन्धुलीको कमलामाई नगरपालिका–४ कुलबाँधमा महिला किसान यमकुमारी कार्कीले बेमौसमी अर्गानिक तरकारी खेती गरी आकर्षक आम्दानी लिनु भएको छ ।
स्थानीय प्रशासनले लकडाउनको समयमा तराईका जिल्लाबाट हरियो तरकारी आयात गर्न प्रतिबन्ध लगाएको बेला महिला किसान कार्कीलाई भने आफुले उत्पादन गरेको बेमौसमी काँक्रो र टमाटर विक्री गर्न भ्याई नभ्याई छ । उहाँले टमाटर भन्दा पनि काँक्राको माग बढी रहेको र थोेरै उत्पादन भएकोले पुर्याउन नसकेको बताउनुभयो ।

गत बर्ष परिक्षणको रुपमा थोरै जमिनमा गरेको टमाटर र काँक्रो खेतीबाट राम्रो आम्दानी लिन सफल भएपछि यो बर्ष हौसिएर झण्डै डेढ कठ्ठा जमिनमा टमाटर र काँक्रो खेती गरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “गत बर्ष थोरै जमिनमा काँक्रो र टमाटर खेती गरेको थिए, तेह्र हजार रुपैया जति आम्दानी लिए । गत बर्ष सोचे भन्दा राम्रो आम्दानी लिएकोले यो बर्ष खेतीको दायरा बढाएको छु ।”
अहिले काँक्रा किन्न बारीमा नै उपभोक्ता आउने भएकोले प्रतिकेजी ६० रुपैयामा बिक्री गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले टमाटर भने दुईथरी मूल्यमा बिक्री गर्दै आउनु भएको छ । टमाटर बारीमै किन्न आउनेलाई प्रतिकेजी ५० रुपैया र बोकेर बिक्री गर्न हिड्दा प्रतिकेजी ८० रुपैयामा बिक्री गर्दै आएको किसान यमकुमारीले बताउनुभयो ।

आफुले उत्पादन गरेको काँक्रो र टमाटरमा अहिलेसम्म बजारबाट किनेर ल्याई बिषादी प्रयोग नगरेको र किरा नियन्त्रणका लागि तीतेपाती र निमको पात कुटेर झोल बनाई गाईको गहुँतमा मिसाएर प्रयोग गर्दै आएको उहाँको भनाई छ ।
यतिखेर कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले तराईका जिल्लाबाट हरियो तरकारी आयात गर्न प्रतिबन्ध लगाएकोले कुलबाधकी किसान कार्कीलाई आफुले उत्पादन गरेको टमाटर र काँक्रो बिक्री गर्न पनि निकै सहयोग पुगेको छ । बजारमा ताजा हरियो तरकारी पाउन छाडेपछि उपभोक्ता टमाटर र काँक्रो किन्न उहाँको बारी खोज्दै जाने गरेको स्थानीय उपभोक्ता बमबहादुर पहाडी बताउनुहुन्छ ।