सिन्धुली,१५ चैत – सिन्धुली, – सिन्धुली जिल्लामा दैनिक उपभोग्य बस्तु पर्याप्त रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निषेधाज्ञा आदेश अवधीभर अत्यावश्यक सामाग्री तरकारी, दुध, खाद्यन्न, औषधी पसल, ग्यास पसलहरु तथा तिनिहरुसँग सम्वन्धीत सवारी साधनहरु सुचारु रहेको छ । बजार अनुगमन गर्दा उपभोग्य वस्तु खाद्यन्न, नुन, तेल, खाद्यन्न चामलहरुको मौज्दात रहेको हुँदा अधिक सामाग्री सञ्चित नगर्न प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
बजारमा दैनिक उपभोग्य बस्तु केही महिनाका लागि सञ्चित रहेको व्यापारीले बताएको स्थानीय प्रशासनले जनाएको छ ।
अत्यावश्यक सामाग्री खरिद गर्न जादा भिड नगरी दुरी कायम गरी खरिद गर्न, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन, संक्रमण फैलिएका देशबाट कोही नागरिक आएका भए क्वारेन्टाईनमा बस्न तथा नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गर्न पनि अनुरोध गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
सिन्धुली जिल्ला घर भई भक्तपुर ईटाभट्टामा काम गर्ने अलपत्र परेका मजदुर बिहिबार र शुक्रबार गरी चार वटा बसमा सिन्धुली आई आ–आफ्नो घर गएका पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यता सिन्धुली उद्योग बाणिज्य संघले पनि सिन्धुली जिल्लालाई छ महिनाको लागि पुग्ने दैनिक उपभोग्य बस्तु बजारमा मौज्दात रहेको जनाएको छ । संघका अध्यक्ष अम्रेशचन्द्र बैदारले ग्यास लगायतका दैनिक उपभोग्य बस्तु पर्याप्त रहेको बताउनुभयो ।
“सिन्धुली जिल्लामा भएको सामान् रामेछाप, दोलखा, ओखलढुंगातिर गयो भने चाहि चाँडै सकियला, नत्र छ महिनालाई मज्जाले पुग्छ,” उहाँले भन्नुभयो । प्रशासनसँग सिफारिस लिएर कुखुराको दाना, ग्यास लगायत अत्यावश्यक बस्तुको आपूर्ति सुचारु हुने व्यवस्था मिलाईएको उहाँको भनाई छ ।
यसैबिच लकडाउनले नागरिकको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको भन्दै लकडाउनको पाचौं दिन कमलामाई नगरपालिकाले सुलभ घुम्ति पसल सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज र सुलभ मुल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि नगरपालिकाले शनिबारदेखि नै उक्त सेवा सुरु गरेको हो ।
खाद्यान्न सामान किन्ने बाहानामा नागरिक घरबाट बाहिर निस्कन थालेकाले नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरि सेवा सुरु गरेको जनाएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा शनिबार विहान बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो । “अतिआवश्यक सामान किन्ने बाहनामा नागरिकहरु सडकमा निस्कन थालेपछि नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरि सेवा सुरु गरेको हो ।” कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले भन्नुभयो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिईएको छ ।