सिन्धुली, १० चैत – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस्(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सिन्धुलीमा ५० बेडको क्वारेन्टाईन बनाईने भएको छ । नेपालमा समेत एक जना कोरोना भाईरस्को संक्रमीत भेटिएको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन बनाउन लागिएको हो ।
सोमवार दिउसो कमलामाई नगरपालिकामा बसेको सरोकारवाला निकायहरुको बैठकले जिल्ला प्रशासन कार्यालय सिन्धुली बसेको पुरानो भवन र भु –संरक्षणको भवनमा क्वारेन्टाईन बनाउने निर्णय गरेको हो ।
कमलामाई नगरपालिका, जिल्ला अस्पताल सिन्धुली, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतका निकाहरुको संयुक्त सहयोगमा उक्त क्वारेन्टाईन बनाउने निर्णय भएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनु भयो ।
क्वारेन्टाईनमा मापदण्ड अनुसारको आवश्यक सामाग्रीहरु सवै निकायहरुले उपलब्ध गराउने सहमती भएकाले मंगलवार(भोली) देखि नै प्रयोगमा आउने गरी तयारी सुरु भएको कमलामाई नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत बविन्द्रलाल माझीले जानकारी दिनु भयो ।
“नगरपालिकाले पिभिसी कार्पेट,सिरानी, तौलियाँ, दाँच माझने ब्रस मन्जन, प्लास्टिक कुर्सी, सेनिटाईजर, चप्पल, नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाले बाल्टीन, जग, साबुन, तन्ना,ब्लाङ्केट, झुल, बाटा, बर्द बहादुर गण सिन्धुलीले खाट र क्वारेन्टाईन व्यवस्थापन, र सिन्धुली अस्पतालले आवश्यक औषधी, डाक्टर, नर्स लगाएतको सामाग्रीहरु उपलब्ध गराउने सहमती भएको छ”उहाँले भन्नु भयो ।
बैठकले कारोना भाईसर संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गर्नुपर्ने निर्णय र कार्यान्वयको जिम्मेवारी सहितको एक कार्यदल समेत गठन गरेको छ । नगरक्षेत्रभित्र काम गर्ने गरी नगरप्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा १३ सदस्यी कार्यदल गठन गरिएको छ ।
कार्यदलको सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक, बर्द बहादुर गणका गणपति, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष, सशस्त्र प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति, उद्योग बाणिज्य संघका अध्यक्ष होटल व्यवसायी संघका अध्यक्ष पत्रकार महासंघका अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रतिनिधि, नेपाली काँग्रेसका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिव कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापा रहनु एको छ ।
जिल्लामा कोरोना भाईरस्को संक्रमण फैलिन नदिन पुर्व तयारीका गतविधिहरु तिव्र बनाएको छ । सिन्धुली अस्पतालले ३ वेडको आईसोलेसन वार्ड स्थापना गरेको छ ।