शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

किसानलाई जंगली जनावरबाट बाली जोगाउनै मुस्किल

शनिवार , पौष १९, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौली निवासी किसान यज्ञप्रसाद चौलागाई घर नजिकै आएको बाँदर धपाउन जाँदा मंगलबार लडेर खुट्टा नै भाँचियो । अहिले उहाँको धुलीखेल अस्पतालमा उपचार भई रहेको छ ।

“घर नजिकै जंगलमा आएको बाँदर पनि धपाउछु, घाँस पनि ल्याउछु भनेर मंगलबार दिउसो घरबाट निस्किनु भएको थियो,” उहाँका छोरा यम चौलागाईले भन्नुभयो, “बाँदर धपाएर घाँस काट्न रुख चढ्नु भएको रहेछ । चढ्ने बित्तिकै हाँगा भाँचिएर लड्नु भएछ । खुट्टाको तिघ्रा भाँचिएको छ ।”

त्यस क्षेत्रमा बाँदर लगायत दुम्जी, बँदेल लगायतका जङगली जनाबरले किसानलाई धेरै दुःख दिदै आएको उहाँले सुनाउनुभयो । जङ्गली जनावरले बाली सखाप पार्न थालेपछि किसान आजित भएका छन् । जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको बालिनाली जोगाउन मुस्किल हुने गरेको किसान स्वयम् बताउछन् ।

“जङगली जनावरले सिजन अनुसार उत्पादन हुने बाली पाक्नु अगाडीनै नष्ट गरेर खाने भएपछि भित्र्याउन त परैको कुरा हो, जोगाउ नै मुस्किल हुदै आउको छ,” कमलामाई नगरपालिका–३ निगालेका किसान लालकाजी श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार महाभारत तथा गड्तीर क्षेत्र अन्र्तगतका सुनकोसी गाँउपालिका, गोलञ्जोर गाँउपालिकाका, कमलामाई नगरपालिका, घ्याङलेख गाँउपालिका लगायत ठाँउका किसानले सिजन अनुसार उत्पादन गर्ने मकै, भटमास, आलु, अन्य तरकारी र फलफुल जंगली जनावरले सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

“बाँदरले घरमै आएर झुण्ड्याएर राखेको मकै समेत छाड्दैन, हाम्रो त मुख्य बाली नै मकै बाली हो,” उहाँले भन्नुभयो, “मकैको सुत्ला आउन नपाउदै बाँदर, दुम्सी, बदेल लगायतका जङगली जनावरले सखाप पार्दछ ।” त्यस क्षेत्रका खेतबारीमा दुम्सी र बदेलका लागि स्थानीयले पासो समेत बनाएर राखेका छन् ।

गोलन्जोर गाँउपालिका–५ हिर्दिङ्गका किसान कुलबहादुर भुजेलले भन्नुभयो, ‘दिनभर बादर धमाउदै बित्छ । राती दुम्सी र बदेलले खान्छ, कसरी बालि जोगाउनु ।’ सुनकोसी गाँउपालिका ७ मझुवा क्षेत्रका किसान पनि बादर र बदेलबाट बाली जोगाउन हम्मे हम्मे परेको बताउछन् । गाउँ नजिकै रहेको जंगलबाट राती बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको स्थानीय बताउछन् ।

“पहिले–पहिले बँदेल गाँउ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले चिन्तित हुन परेको” मझुवा निवासी किसान सुनीलाल लामाले बताउनुभयो । उहाँका अनुसार वरपर जंगल रहेको र छेउको बाली भएको बारीमा दैनिक बादर र बदेल पस्ने र बालि नष्ट गर्ने गरेको छ ।

वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुने स्थानियको भनाई छ । विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको घ्याङलेख गाँउपालिकाका किसान बताउछन् ।

स्थानीय किसानका अनुसार बाँदर र बदेलले बाली नष्ट पार्न थालेपछि छेउको बारी हुने धेरै किसानका खेत बाझै छ । “बाली लगाएर के गर्ने ? बाँदरलाई नै ठिक्क हुन्छ,” मझुवा निवासी किसान लामाले थप्नुभयो, “बर्ष दिन दुःख ग¥यो, भित्र्याउने संम्भावना हुदैन । बादरले खान्छ ।” रातभरि जाग्राम बस्दा समेत बँदेललाई रोक्न नसकिएको स्थानियको गुनासो छ ।

प्रतिक्रिया