नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले ६ महिने पार्टी सुदृढिकरण तथा जनसम्बन्ध सुधार अभियान सञ्चालन गर्ने भएको छ । पार्टी एकिकरण पछि बसेको द्रोस्रो बैठकबाट यस्तो निर्णय भएको हो ।
सिन्धुली सौगातसँग कुराकानी गर्नुहुँदैँ नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन)ले बैचारिक राजनीतिक काम, संगठनात्मक काम, जनपरिचालन, विकाससँग सम्बन्धित काम गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले नेकपाले निर्वा्चित जनप्रतिनिधि र नेता कार्यकर्तालाई पार्टी प्रशिक्षण दिने र पार्टीको नीति सिद्धान्त र चुनावी घोषणा पत्रका आधारमा काम गर्न सहजीकरण गर्ने समेत बताउनुभयो ।
पार्टीको आधिकारीक धारणा भन्दा बाहिर रहेर नेता तथा कार्याकर्तालाई पार्टी र सरकार विरुद्ध सामाजिक सञ्जाल,सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा कुनै पनि अभिव्यक्ति नदिन निर्देशनात्मक निर्णय भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुबाटै पार्टी र सरकारको विरुद्धमा सामाजिक सञ्जाल, सार्वजनिक स्थलमा अभिव्यक्तिहरु बढ्न थालेपछि त्यस्तो निर्णय गरिएको नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन)को भनाई रहेको छ ।