संघीयता कार्यान्वयन जटिल बन्दै गएको छ । संघीयता कार्यान्वयनको एउटा मुख्य पाटो कर्मचारी समायोजन सकस बन्दा सिन्धुलीको स्वास्थ्य सेवा प्रभावित भएको छ । कर्मचारीका गुनासा सम्बोधन नभएकाले पहिलेकै ठाउँमा रहेर समायोजनका कर्मचारीले काम गरिरहेका छन् । जसको असरले सिन्धुली अस्तालको इमर्जेन्सी सेवा समेत बन्द भएको छ । अस्पतालमा गएका विरामीहरु क्लिनीकहरुमा गएर महंगो उपचार गर्न बाध्य भएका छन् । महंगो उपचार गर्न नसक्ने विरामीहरु उसै घर फर्किने गरेका छन् ।
समायोजन भएर सिन्धुली अस्तालमा खटिएका डाक्टरहरू हाजिर नभएकाले इमर्जेन्सी सेवा बन्द गर्नु पर्ने अवस्था आएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरलेले बताउनुभयो । अस्पतलामा चार जना मेडिकल अधिकृतको दरबन्दी छ, तर दरबन्दीका अधिकृत छैनन् । करारका एक जना मेडिकल अधिकृत आफैँ बिरामी भएर अस्पतालमा उपचारत् हुनुहुन्छ । अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले भन्नुभयो,“अस्पतालमा भएका एक जना अधिकृतले ओपिडी देखि इमर्जेन्सी समेत सञ्चालन गर्न सक्ने अवस्था छैन,स्वास्थ्य सेवा नै अवरुद्ध भएको हो ।”
उहाँले स्वास्थ विभागले नर्सिङ अधिकृत इन्दिरा पौडेल प्रधानलाई सिन्धुली अस्पतालमा खटाएको भए पनि विहिबार सम्म अस्पतालमा हाजिर हुन आईनपुग्नु भएको जानकारी दिनुभयो ।
यता सिन्धुली सौगातसँग कुराकानी गर्नुहुँदै नर्सिङ अधिकृत पौडेल प्रधानले कर्मचारी समायोजन प्रति असन्तुष्ठी व्यक्त गर्नुभयो । सिन्धुली अस्पतालमा रहेर काम गर्र्न आफुलाई अनुकुल नहुने उहाँको भनाई छ । समायोजनले कर्मचारीलाई झुक्याएको छ । कर्मचारीको पीरमर्का,समस्या,सम्बोधन भएको छैन । उहाँले भन्नुभयो,“समायोजन प्रति गम्भिर आपत्ति र असहमती छ ।”
रोजेको ठाउँमा समायोजन पाइएन, श्रीमान श्रीमती सँगै भएनौँ, रोगी भएकाले राम्रो उपचार हुने अस्पताल नजिक भएन,स्थायी ठेगाना भए अनुसार समायोजन भएन लगाएतका गुनासो गर्नुहुँदै उहाँले आफुलाई सिन्धुली अस्पतालमा काम गर्न अनुकुल नहुने भएकाले राजिनामा दिईने समेत बताउनुभयो ।
स्वास्थ्य विभागले सिन्धुली अस्पतालमा २ जना एचएहरू टीका लुइँटेल र कृष्ण अधिकारीलाई खटाएको चिठी ८ असोजमा पठाएको छ । तर उहाँहरु दुवै जनाले सिन्धुली असपतालमा हाजिरी नगरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एचए टीका लुइँटेल हाल ईलाम अस्पतालमा र कृष्ण अधिकारी गोरखा अस्पतालमा कार्यरत हुनुहुन्छ ।
कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक एक्काइस दिन भित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिवार्य रुपमा हाजिर हुनु पर्ने व्यवस्था छ । तर समायोजमा सिन्धुली अस्पतालमा खटिएका चिकित्सकहरु अहिले सम्म सम्पर्कमा नआएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
एचए लुइँटेललाई हाल कार्यरत इलाम अस्पतालका प्रमुख डाक्टर पवन रायमाझिले रमना पत्र नदिएकाले आउन नसकेको बताउनु भयो । डाक्टर रायमाझिले इलाम अस्पतालमा प्रदेशले खटाएका कर्मचारी नआउँदा इर्मजेन्सी सेवा नै बन्द हुने भएकाले नपठाईएको बताउनुभयो । त्यस्तै समायोजनमा परेका एचए अधिकारीले समायोजनमा चित्त नबुझेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो दर्ता गरेको बताउनुभयो ।
अस्पतालमा चार महिना देखि मेडिकल सुपरिटेन्डेन्ट नहुँदा अस्पतालका सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामहरू रोकिएको छ । सुपरिटेन्डेन्ट नहुँदा अस्पतालको खातामा पैसा भएर पनि औषधि खरिद गर्न नसकिएको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार अस्पतलामा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्न डा. लक्षमण खड्का आउनु पर्ने हो ।