नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीको बिजय उत्सव भव्य रुपमा मनाईने भएको छ ।
कमलामाई नगरपालिकाले बुधबार बिहान पत्रकार सम्मेलन गरि कात्तिक २२, २३ र २४ गते ऐतिहासिक सिन्धुलीगढीको बिजय उत्सब भब्य रुपमा मनाउने तयारी भई रहेको जानकारी गराएको हो । कार्यक्रममा नगरप्रमुख खड्गबहादुर खत्रीले बिजय प्राप्त गरेको दिन कात्तिक २४ गते सार्बजनिक बिदा दिने निर्णय समेत नगरपालिकाको कार्यपालिकाको बैठकले गरेको बताए ।
बिजय उत्सवमा रक्षा मन्त्री, पर्यटन मन्त्री र नेपाली सेनका प्रधान सेनापतिलाई समेत निम्ता दिने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिजय उत्सवमा नेपाली सेनासँग सम्बन्धित युद्ध समाग्री, भेषभुषा र स्थानिय उत्पादनको प्रचार प्रसार गर्न स्टल राखिने छ । नेपाल एकिकरणका बेला बिं. सं. १८२४ कात्तिक २४ गते सिन्धुलीगढीमा काठमाडौँ कब्जा गर्न किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई हराएर गोर्खाली सेनाले बिरासत कमाएको थियो ।
नेपाल पत्रकार महासंघले २०६७ सालदेखि सुरु गरेको प्रत्येक बर्ष कात्तिक २४ गते सिन्धुलीगढी बिजय उत्सव मनाउने परम्परालाई स्थानीय तहमा जनप्रतिनिधिहरु निर्बाचित भएर आएपछि नगरपालिका आफैले निरन्तरता दिन सुरु गरेको हो । गत बर्ष कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधान सेनापतिको उपस्थितीमा सिन्धुलीगढी बिजय उत्सब मनाईएको नगरपालिकाले जनाएको छ ।
यो बर्ष सिन्धुलीगढी बिजय उत्सवमा युद्ध संग्राहलय र पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि शिलान्यास गरिने नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । गढी परिसरमा रहेको दरबारको जिर्णोद्वार गर्न छिट्टै नै टेण्डर निकाल्ने तयारी भई रहेको उनको भनाई छ ।
उनका अनुसार बिजय उत्सवकै अबसरमा सिन्धुलीगढी घुम्न आउने पर्यटकसँग लिईने गरिएको २५ रुपैया प्रवेश शुल्कलाई कात्तिक महिनाभरि ५० प्रतिशत छुट गरिएको र कात्तिक २० गतेदेखि २५ गतेसम्मलाई पुरै छुट गरिएको छ । नगरपालिकाले गुरु योजना नै बनार सिन्धुलीगढीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास र संरक्षण गर्दै गएको छ ।
सिन्धुलीगढी बिजय उत्सवकै अबसरमा नेपाली सेनाले यहि कात्तिक ९ गतेदेखि चियाबारीबाट सिन्धुलीगढीसम्म पाँच किलोमिटर लामो किनलोक पदमार्ग निर्माण सुरु गर्ने भएको छ ।
नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा उक्त सङग्राहलय बन्न लागेको हो । कमलामाई नगरपालिकाको समन्वयमा निर्माण हुन लागेको उक्त संग्राहलय निर्माणको जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बर्दबहादुर गणले पाएको छ ।
नगरपालिकाका अनुसार सिलान्यास भएको नौ महिनाभित्र उक्त संग्राहलय निर्माण पुरा गर्ने लक्ष्य छ । सङग्राहलय निर्माणका लागि नक्सांकन, डिजाईन भईसकेको र कुल लागत चार करोड ५० लाख रुपैया रहेको छ ।
नेपाल सरकारले घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीको मुख्य दरबार ( ठुलो गढी ) प्रदेश नं ३ सरकारले बनाउने भएको छ । मुख्य दरबारलाई जस्ताको त्यस्तै बनाउनका लागि प्रदेश सरकारले चालु आर्थिक बर्ष चार करोड रुपिया बजेट बिनियोजन गरेको नगरप्रमुख खत्रीले बताए ।