सिन्धुली,१२ मंसिर — नेपाली काँग्रेसको देउवा पक्षले सिन्धुलीमा १५औँ जिल्ला अधिवेशन सम्पन्न गर्दै खड्गबहादुर वाइबालाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ । सिन्धुलीमाडीमा शुक्रवार आयोजित अधिवेशनमा काँग्रेस नेता विमलेन्द्र निधि र पूर्व राज्यमन्त्री कान्छाराम तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी थिए । पूर्व प्रदेश अर्थमन्त्री कुन्दनराज काफ्ले, काँग्रेस नेता सरोज थापालगायत नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा भएको कर्यक्रममा जिल्ला समितिको अन्य पधाधिकारी भने चयन भएन ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ बाट कृष्ण मुरारी गुरुङ, शम्भु राउत, विनोदकुमार गुरुङ, लालबहादुर थापा र सञ्जिव न्यौपाने खुलातर्फ चयन भए । खुला महिलातर्फ अर्पणा खड्का र इन्दिरा निरौला, खसआर्यतर्फ धर्मराज पोखरेल, विज्ञतर्फ सन्तोषकुमार बस्नेत, जनजातितर्फ रविन श्रेष्ठ, ४० वर्षमुनितर्फ सुदिप मिश्र तथा नवयुवातर्फ इन्जिनियर सुमनकुमार मिश्र सर्वसम्मत भए ।
क्षेत्र नं. २ बाट खुलातर्फ सरोजकुमार मैनाली, जयकुमार उपाध्याय ढकाल, रामकुमार माझी, असिम थापा, पविन्द्र वाइवा, दीपककुमार पोखरेल, बलराम बराल, मनिष ढकाल, भबिन्द्र कोइराला, भेषदेव खतिवडा, सुरेश कोइराला, कर्मसिं थिङ, पूर्णबहादुर लो, बिकबहादुर योञ्जन, धनराज वाइवा, फत्तसिं वाइवा, बावनसिं बम्जन, निर्मलकुमार श्रेष्ठ र हिमाली वि.क. चयन भए ।
खुला महिलातर्फ दिपशिखा ढकाल, कान्ता ढकाल, कालिमाया माझी र मंगली माझी; युवातर्फ इन्दिरा वाइवा; आदिवासी जनजातितर्फ ध्रुवराज श्रेष्ठ; श्रमिकतर्फ सुकदेव मैनाली; जनजाति ४० वर्षमुनितर्फ सागर माझी तथा विज्ञतर्फ भेषदेव खतिवडा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनलाई नेतृत्व चयनको औपचारिकतामा सीमित नगरी संगठनको अवस्थाको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने देखिन्छ । नेताहरूको उपस्थिति र कार्यकर्ताको सहभागिताले उत्साह देखाए पनि त्यसले संगठनको वास्तविक सामथ्र्य प्रमाणित गर्दैन । सक्रिय कार्यकर्ता, जनतासँगको सम्बन्ध र स्थानीय तहसम्मको प्रभावकारी संरचना नै संगठनको आधार हुन् ।
काँग्रेसको चुनौती आन्तरिक समूहबीच समन्वय गर्दै साझा राजनीतिक उद्देश्य स्थापित गर्नु हो। नयाँ पुस्तालाई निर्णय प्रक्रियामा अवसर दिनु, पारदर्शिता कायम गर्नु र नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्नु आवश्यक छ ।
कमलामाईको व्यवस्थित सहरी विकास, सडक, खानेपानी तथा स्वास्थ्य सेवाको सुधार, युवाका लागि रोजगारी र उद्यमशीलता, कृषि उत्पादनको बजार व्यवस्थापन, शिक्षा तथा स्वास्थ्यमा सहज पहुँच र ग्रामीण क्षेत्र तथा सदरमुकामबीच विकासको सन्तुलनजस्ता मुद्दामा काँग्रेसले स्पष्ट नीति र कार्ययोजना प्रस्तुत गर्नुपर्ने देखिन्छ ।
विमलेन्द्र निधिको उपस्थितिले जिल्ला संगठनलाई राष्ट्रिय नेतृत्वसँग जोड्ने अवसर दिएको छ । तर राष्ट्रिय नेतृत्वको अनुभव र एकताको सन्देश स्थानीय तहमा कार्यान्वयन हुन सके मात्र त्यसको अर्थपूर्ण परिणाम देखिनेछ ।
अबको पाँच वर्षमा वडा तथा टोलसम्म सक्रिय संगठन विस्तार, युवालाई नेतृत्वमा अवसर, गुटभन्दा साझा एजेन्डालाई प्राथमिकता, जनसम्पर्क र जवाफदेहिता तथा आर्थिक पारदर्शिता काँग्रेसका प्राथमिकता हुनुपर्छ ।
अधिवेशन सम्पन्न हुनु उपलब्धि भए पनि संगठनलाई एकताबद्ध बनाउने, जनताका मुद्दा उठाउने र नेतृत्वको जिम्मेवारी पूरा गर्ने काम अब सुरु हुन्छ । सिन्धुली काँग्रेसको सफलता इतिहासको चर्चा होइन, भविष्यका लागि नयाँ राजनीतिक आधार निर्माण गर्न सक्ने क्षमताबाट मापन हुनेछ ।