सिन्धुली,११ मंसिर — बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्घटनामा झापाबाट काठमाडौं जाँदै गरेका मोटरसाइकल चालक राजेश प्रसाई घाइते भएका हुन् ।
बागमती प्रदेशग प्रहरी कार्यालय हेटौढाले शुक्रवार दिएको जानकारी अनुसार बिहिवार अपराह्न करिब ४ बजे प्रसाईले चलाएको प्रदेश १–०१–०१३ प ४०८ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । झापा जिल्लाको भद्रपुर नगरपालिका–९ निवासी ३९ वर्षीय प्रसाईको बायाँ खुट्टामा चोट लागेको छ ।
दुर्घटनापछि उनलाई खुर्कोटस्थित शुभ जीवन अस्पतालमा उपचारका लागि लगिएको थियो । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकसँग आवश्यक कागजात रहेको र उनले मादक पदार्थ सेवन नगरेको पनि प्रहरीको विवरणमा उल्लेख छ ।
दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी गढीको नियन्त्रणमा राखिएको छ । प्रहरीले दिएको थप विवरणअनुसार प्रसाईलाई शुक्रवार बिहान करिब ४ः३० बजे धरानस्थित घोपा अस्पतालमा थप उपचारका लागि लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।