शुक्रवार, मंसिर ११ गते २०८३

Friday 27th November 2026

बीपी राजमार्ग निर्माण समयमै सक्न निर्देशन

शुक्रवार , मंसिर ११, २०८३

काठमाडौं,११ मंसिर – निर्माणाधीन बीपी राजमार्गको काम निर्धारित समयभित्र सम्पन्न गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिका सभापति आशिष गजुरेलले निर्माण कार्यमा भइरहेको प्रगति, देखिएका समस्या र आगामी कार्ययोजनाबारे जानकारी लिँदै कामलाई तीव्रता दिन आग्रह गरेका हुन् ।

सभापति गजुरेलको नेतृत्वमा भएको छलफलमा सांसद सृष्टि भट्टराई, सडक डिभिजन प्रमुख अभिमन्यु मुल्मी तथा इन्जिनियर शंकर खनाल सहभागी थिए । बैठकमा राजमार्ग निर्माणको हालसम्मको अवस्था, निर्माणका क्रममा उत्पन्न चुनौती र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे समीक्षा गरिएको थियो ।

छलफलका क्रममा सभापति गजुरेलले निर्धारित समयमै निर्माण सम्पन्न गर्न आवश्यक जनशक्ति, निर्माण सामग्री तथा प्राविधिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिए । निर्माणको गति बढाउने क्रममा सडकको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै उनले कामको नियमित अनुगमन र समन्वयमा जोड दिएका थिए ।

हालै सडक डिभिजन प्रमुखका रूपमा सरुवा भई आएका अभिमन्यु मुल्मीलाई राजमार्ग निर्माणलाई प्राथमिकतामा राख्न सभापति गजुरेलले आग्रह गरे । सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई थप गतिशील बनाउनुपर्ने उनको भनाइ थियो ।

सिन्धुली, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रका नागरिकको दैनिक आवागमन, व्यापार, पर्यटन र आर्थिक गतिविधिसँग बीपी राजमार्ग प्रत्यक्ष रूपमा जोडिएको छ । यसलाई महत्वपूर्ण सडक पूर्वाधारका रूपमा उल्लेख गर्दै सभापति गजुरेलले निर्माणमा अनावश्यक ढिलाइ हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।

निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको पनि उनले उल्लेख गरे ।

राजमार्गको निर्माण निर्धारित समयमै सम्पन्न भए नागरिकको सुरक्षित तथा सहज आवागमन सुनिश्चित हुने, स्थानीय आर्थिक गतिविधि विस्तार हुने र व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले समग्र क्षेत्रको पूर्वाधार विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया