सिरहा, — सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । चौहर्वा–सिरहा सडकखण्डमा आज बिहिवार बिहान करिब १० बजे भएको दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरणको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पु¥याइएको थियो । अस्पतालका चिकित्सकले बिहान १० बजेर २५ मिनेटमा दुवै जनालाई मृत घोषणा गरेका हुन् ।
मृत्यु हुने दुवै पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनीहरूको पहिचान खुलाउने तथा आफन्तको खोजी गर्ने कार्य भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक फरार भएका छन् । उनको खोजतलास जारी रहेको छ । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिई कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाइएको छ ।