सोमवार, आश्विन २६ गते २०८३

Monday 12th October 2026

बुढीगण्डकी बाढी : हिमपहिरो वा पहिरोले नदी थुनिएको आशंका

आइतवार , आश्विन २५, २०८३

काठमाडौं,२५ असोज – रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको डेढ महिनापछि गोरखाको बूढीगण्डकी नदीमा पनि अस्वाभाविक रूपमा ठूलो बाढी आएको छ । कालो लेदो, ढुंगा र माटोसहित आएको बाढीले नदी किनारका संरचनामा व्यापक क्षति पु¥याएको छ । गोरखा–धादिङ जोड्ने आरुघाट पुलसहित विभिन्न स्थानका झोलुङ्गे तथा पक्की पुलहरू बगाएको छ ।

बाढीबाट भएको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी रहे पनि गोरखाबाट निर्वाचित भई गृहमन्त्री बनेका सुधन गुरुङले नेपालले पुनः अर्को भयावह बाढीको सामना गर्नुपरेको बताएका छन् । उत्तरी गोरखाका स्थानीय बासिन्दाले पनि यस किसिमको ठूलो र विनाशकारी बाढी पहिलोपटक देखेको बताएका छन् ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलमा क्षति पु¥याएको छ । आरुघाट पुलको गोरखातर्फको एउटा स्पानसमेत बाढीले बगाएको सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा देखिएको छ ।

बूढीगण्डकीको माथिल्लो क्षेत्रमा ठूलो वर्षा भएको अभिलेख नभएकाले वर्षाका कारण मात्र यस्तो बाढी आएको हुन नसक्ने विज्ञहरूले बताएका छन् । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले उपल्लो क्षेत्रमा पानी परेको रेकर्ड नरहेको भन्दै मानव बस्तीभन्दा माथिल्लो हिमाली क्षेत्रमा बाढीको उत्पत्ति भएको हुनसक्ने बताए ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक सूचनाले उत्तरी क्षेत्रमा हिमपहिरो गएको र त्यसबाट आएको हिउँ, लेदो तथा अन्य पदार्थ नदीमा मिसिएर बाढी आएको हुनसक्ने देखिएको छ । यद्यपि बाढीको वास्तविक कारण भने पुष्टि हुन बाँकी रहेको उनले बताए ।

चुमनुब्री गाउँपालिका–६ लोक्पामा राति सुक्खा पहिरो गएर नदी थुनिएको र पछि एक्कासि भीषण बाढी आएको स्थानीयले जानकारी दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताएका छन् ।

चुमनुब्री–६ हुँदै बग्ने उङगिलुङ खोला चुम्चेत क्षेत्रबाट आएको खोला हो, जुन बूढीगण्डकीमा मिसिन्छ । मनास्लु हिमाल क्षेत्रबाट उद्गम मानिने बूढीगण्डकीमा आएको यो असामान्य बाढीको कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया