सोमवार, आश्विन २६ गते २०८३

Monday 12th October 2026

सुख्खा पहिरोले पुरिएको घरबाट एक जनाको सकुशल उद्धार

मंगलवार , आश्विन १३, २०८३

                                                                     फोटो : Ai

पर्वत,१३ असोज – पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा भित्र च्यापिएका एक वृद्धको सकुशल उद्धार गरिएको छ ।

मंगलबार बिहान करिब ५ः३० बजे माथिल्लो क्षेत्रबाट ढुङ्गा र माटोसहितको सुख्खा पहिरो खस्दा लामाबगरस्थित घर पुरिएको थियो । पहिरोले घरभित्र रहेका सोही स्थानका अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य च्यापिएका थिए ।

घटनालगत्तै स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो । उद्धार टोलीले घरभित्र च्यापिएको अवस्थामा आचार्यलाई फेला पारी सुरक्षित रूपमा बाहिर निकालेको हो। पहिरोले घरमा क्षति पु¥याए पनि आचार्यलाई सकुशल उद्धार गर्न सफल भएको जनाइएको छ ।

उद्धार गरिएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको उद्धारमा संलग्न पक्षले जनाएको छ ।

चोटको थप परीक्षण तथा उपचारका लागि आचार्यलाई म्याग्दीस्थित प्रदेश अस्पताल बेनी पठाइएको छ । चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको बताइएको छ ।

सुख्खा पहिरो खस्दा भएको उक्त घटनापछि स्थानीय क्षेत्रमा थप जोखिमको अवस्थाबारे पनि निगरानी भइरहेको छ । पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया