काठमाडौं, २१ असोज — सर्वोच्च अदालतको संवैधानिक इजलास गठन प्रक्रियाप्रति प्रश्न उठाउँदै न्यायाधीश हरि फुयालले इजलासमा बस्न अस्वीकार गरेपछि बुधबारका लागि निर्धारित संवैधानिक इजलास बस्न सकेन ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले गठन गरेको बुधबारको संवैधानिक इजलासमा न्यायाधीश फुयाललाई समावेश गरिएको थियो । यसअघिका संवैधानिक इजलासमा आफूलाई सहभागी नगराइएको तर यसपटक समावेश गरिएको विषयमा उनले असन्तुष्टि जनाएका हुन् । प्रधानन्यायाधीशलाई भेटेर उनले इजलासमा बस्न अस्वीकार गर्दै, “विगतमा किन राखिएन र आज मेरो के आवश्यकता प¥यो ?” भनेर प्रश्न गरेको बताइएको छ ।
न्यायाधीश फुयालले इजलास गठनमा प्रधानन्यायाधीशको स्वविवेकीय अभ्यासप्रति आपत्ति जनाउँदै यसका लागि स्पष्ट र वैज्ञानिक आधार अपनाउनुपर्ने धारणा राखेका छन्। संवैधानिक इजलास गठन गर्दा न्यायाधीशको वरिष्ठताक्रम वा गोला प्रथाजस्ता निश्चित विधि अवलम्बन गर्नुपर्ने उनको अडान छ । प्रधानन्यायाधीशको व्यक्तिगत रोजाइका आधारमा न्यायाधीश चयन गरी संवैधानिक इजलास गठन गर्न नहुने उनको धारणा रहेको छ ।
फुयाल इजलासमा बस्न तयार नभएपछि अन्य न्यायाधीशसमेत बुधबारको संवैधानिक इजलासमा सहभागी हुन तयार नभएको बताइएको छ । त्यसपछि त्यस दिनका लागि तय भएको संवैधानिक इजलास सञ्चालन हुन सकेन । संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश रहने संवैधानिक इजलास गठन हुने गर्छ ।
सर्वोच्च अदालतभित्र पछिल्लो समय न्यायाधीशहरूको इजलास गठन तथा जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर असन्तुष्टि देखिँदै आएको छ । संवैधानिक इजलासमा सहभागी न्यायाधीशहरूबीच राय फरक परेका घटना यसअघि पनि सार्वजनिक भएका थिए । बुधबारको घटनाले संवैधानिक इजलास गठनमा अपनाइने आधार, वरिष्ठता र न्यायाधीश छनोट प्रक्रियाबारेको बहसलाई पुनः सतहमा ल्याएको छ ।