बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बुधवार , आश्विन २१, २०८३

काठमाडौं,२१ असोज –  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा उनीसँग निकट सम्बन्ध रहेका केही व्यक्ति र नातेदारका घरमा छापा मारेको छ ।

विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरासहित नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको हो । उनीहरूका घरमा पुगेर टोलीले अनुसन्धानसँग सम्बन्धित कागजात तथा सामग्रीको खोजी गरेको स्रोतले जनाएको छ ।

अनुसन्धानको दायरा जबरासँग निकट रहेका व्यक्तिमा मात्र सीमित नराखी उनका केही नातेदारसम्म विस्तार गरिएको छ । स्रोतका अनुसार जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ ।

विभागको टोलीले जबराका निकटस्थ व्यक्तिका घरमा छापा मार्ने क्रममा अनुसन्धानका लागि महत्वपूर्ण मानिएका केही कागजातसमेत बरामद गरेको स्रोतको भनाइ छ । छापाका क्रममा बरामद कागजातको प्रकृति तथा त्यसबारे विभागले अघि बढाउने थप अनुसन्धानसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यो घटनाक्रम पूर्वप्रधानन्यायाधीश जबरामाथि सुरक्षा निकायको निगरानी बढेको केही दिनपछि आएको हो । केही दिनअघि मात्र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै घरबाट मध्यराति पक्राउ गरेको थियो ।

कार्यालयको टोलीले उनलाई पक्राउ गरी करिब १२ घण्टासम्म नियन्त्रणमा राखेपछि छाडेको थियो ।  प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो । त्यसको केही दिनमै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जबरा, उनका नातेदार तथा निकटस्थ व्यक्तिका घरमा एकसाथ छापा मार्दै अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया