काठमाडौँ,२० असोज – यस वर्षको बडादशैँअन्तर्गत विजयादशमीको टीका कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे लगाउन उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरेपछि १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका र आशीर्वाद ग्रहण गर्न सकिनेछ ।
टीका लगाउँदा टीका ग्रहण गर्ने व्यक्ति पश्चिमतर्फ फर्केर बस्नुपर्ने समितिले जनाएको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइत खोज्नेका लागि १०ः२६ बजेको समय निर्धारण गरिएको हो । उनले राज्य सञ्चालकले भने समितिले तोकेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने बताए ।
नेपालका धेरै क्षेत्रमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिने परम्परा छ भने केही स्थानमा विजयादशमीकै दिन मात्र टीका लगाउने चलन छ ।
यस वर्ष नवरात्र असोज २५ गते आइतबारदेखि सुरु हुनेछ । घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे तोकिएको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि दुवैको शान्ति गर्नुपर्ने समितिले जनाएको छ । असोज २६ गते बिहान १०ः०७ बजे पश्चिम मोहडा गरी झण्डा फेर्ने साइत छ । असोज २९ गते बिहीबार पचलीभैरव यात्रा तथा असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । फूलपातीकै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको र १०ः३९ बजे स्थिरासनको साइत तोकिएको छ ।
कात्तिक १ गते आइतबार महाअष्टमी तथा राति कालरात्रि पर्व मनाइनेछ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि रहनेछ । कात्तिक ३ गते मंगलबार महानवमी र कात्तिक ४ गते बुधबार बडादशैँको मुख्य दिन विजयादशमी परेको छ । सोही दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्रा र ११ः५२ बजे स्थिरासनको साइत रहेको छ । खड्गयात्रा पनि त्यसै दिन हुनेछ ।
कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ । सोही दिन कोजाग्रतव्रत र पूर्णिमा व्रत परेको छ । साँझ घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधनापछि १५ दिन लामो दुर्गा पक्षको धार्मिक अनुष्ठान समापन हुनेछ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने दशैँले देशभर पारिवारिक भेटघाट, धार्मिक आराधना र सांस्कृतिक गतिविधिलाई चलायमान बनाउँछ । रोजगारी, अध्ययन र व्यवसायका कारण थातथलोबाट टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद लिन घर फर्कने गर्छन् । शरद ऋतुमा मनाइने पर्वमा नवदुर्गाको पूजा, उपासना र शक्तिपीठ दर्शनको विशेष महत्व रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति रहने गर्छ ।
दशैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको चाप बढेको छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा लिइने दशैँका लागि सरकारले सहुलियत मूल्यमा खाद्यवस्तु बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बालबालिका पिङ खेल्ने र चङ्गा उडाउनेजस्ता मनोरञ्जनमा रमाउँछन् भने प्रौढहरू देवीको पूजा, आराधना र पारिवारिक संस्कारमा सहभागी हुने गर्छन् । नेपाली समाजमा प्रचलित ‘दशैँ बालबालिकाकै लागि हो’ भन्ने उखानले समेत पर्वको उल्लासपूर्ण पक्षलाई प्रतिबिम्बित गर्छ ।