काठमाडौँ,२० असोज – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहालसँग सम्पर्क देखिएका झापाका इनम सापकोटामाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेका बेला प्रहरीको विशेष ब्युरोले पक्राउ गरेका सापकोटालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । उनले भने, “उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ ।”
प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा सापकोटासँग निरन्तर र बाक्लो सम्पर्क भएको विवरण फेला पारेपछि उनलाई खोज्न थालेको थियो । अनुसन्धानकै क्रममा सापकोटाको सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँग पनि सम्पर्क रहेको देखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताएका छन् ।
असोज ११ गते बिहान एआईजी दाहाल जबरालाई भेट्न टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको तथ्यसमेत खुलेको छ । प्रहरीले सुरक्षा चुनौती देखिएको भन्दै जबरालाई नियन्त्रणमा लिएपछि उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूबारे अनुसन्धान विस्तार गरेको हो । दाहाल अहिले निलम्बनमा छन् भने गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेर घटनाको छानबिन गरिरहेको छ । यद्यपि दाहालले कस्तो सूचना चुहाएको भन्ने विषय सार्वजनिक भइसकेको छैन ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार सापकोटाको जबरा र दाहालसँग मात्र नभई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्ट तथा सुलभ अग्रवालसँग पनि सम्पर्क देखिएको छ । जबराको मोबाइल उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापा र डीएसपी योगराज खतिवडाले जाँच गर्दा सापकोटासँग बाक्लो सम्पर्क रहेको विवरण भेटिएको थियो ।
सापकोटाको मोबाइल जाँचपछि थप तथ्य खुलेको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरीसँगको बयानका क्रममा सापकोटाले भने जबराले आफूलाई प्रयोग गरेको जिकिर गर्दै आएका छन् ।
अनुसन्धानकर्ताले जबराले सापकोटामार्फत भट्ट र अग्रवालको मुद्दामा सहजीकरणको प्रयास गरेको हुनसक्ने आशंका गरेका छन् । प्रहरी स्रोतका अनुसार जबराको भनाइअनुसार सापकोटाले ‘बिचौलिया’को भूमिका निर्वाह गर्दै आएका थिए । पछिल्लो समय भट्ट र अग्रवालको मुद्दा सल्टाउने प्रयत्नमा उनीहरूबीच ‘पुल’को भूमिका खेलेको देखिएको प्रहरीको दाबी छ । कारागारबाट भट्टले सापकोटालाई फोन गरेको विवरणसमेत प्रहरीले फेला पारेको छ ।