सिन्धुली,२०असोज – हरिहरपुरगढी गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी महेन्द्रझाडी, सिन्धुलीमा निःशुल्क मोतिबिन्दु छनोट शिविर मंगलवार सम्पन्न भएको छ ।
शिविरमा कुल ११४ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १८ जना मोतिबिन्दुका बिरामी अपरेसनका लागि छनोट भएका छन् । अन्य आँखासम्बन्धी समस्या देखिएका बिरामीलाई निःशुल्क औषधि तथा चस्मासमेत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटि सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।
मोतिबिन्दु अपरेसनका लागि छनोट भएका १८ जना बिरामीको २०८३ कात्तिक १३ र १४ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा निःशुल्क शल्यक्रिया गरिने श्रेष्ठले जनाए ।
शिविर सञ्चालन तथा व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी महेन्द्रझाडी उपशाखा, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ र महेन्द्रझाडी स्वास्थ्य चौकीले स्थानीयस्तरबाट सहयोग पु¥याएका थिए ।
त्यसैगरी शिविरका लागि सहयोग उपलब्ध गराउने तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ, जानकी आँखा अस्पताल जनकपुर,सिंगापुरस्थित एनजी एलिक, टी तथा झाङ वेन परिवार र गुड भिजन नेपाल प्रति आयोजक पक्षले हार्दिक आभार व्यक्त गरेको छ ।