मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

फेरि आयो असोज १८ : देउवाको राजनीतिक यात्रामा अर्को निर्णायक मोड

बुधवार , आश्विन १४, २०८३


काठमाडौँ ,१५ असोज – नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक यात्रामा असोज १८ गते फेरि एउटा महत्वपूर्ण संयोग बनेर आएको छ । २०५९ साल असोज १८ गते प्रधानमन्त्री पदबाट हटाइएका देउवा यसपटक सोही मितिमा काँग्रेसको १५औँ महाधिवेशनको औपचारिक सुरुवातसँगै पार्टी नेतृत्वबाट बाहिरिने अवस्थामा पुगेका छन् ।

२०७८ मंसिरमा सम्पन्न काँग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवा गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको नेतृत्वमा नरहेका हुन् । यद्यपि, देउवाले आफ्नो नेतृत्वको केन्द्रीय कार्यसमितिको सहमतिबिना आयोजना गरिएको भन्दै उक्त विशेष महाधिवेशनलाई स्वीकार गरेका छैनन् ।

विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिले यसअघि असोज १६ गते १५औँ महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको थियो । तर, असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण भएको जनधनको क्षति र सडक अवरोधलाई ध्यान दिँदै उद्घाटन कार्यक्रम दुई दिन पछि सारिएको हो । अब असोज १८ गते दिउँसो १ बजे काठमाडौँको खुलामञ्चमा महाधिवेशन उद्घाटन हुने तय भएको छ ।

काँग्रेस विधानअनुसार कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति बन्न पाउँदैन । देउवा १३औँ र १४औँ महाधिवेशनबाट सभापति निर्वाचित भइसकेकाले विधानतः १५औँ महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्न पाउने अवस्था छैन ।

काँग्रेसको आधिकारिकताको विषय भने सर्वोच्च अदालतमा विचाराधीन छ । यही अवस्थालाई आधार बनाएर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

देउवाका लागि असोज १८ को अर्को ऐतिहासिक सम्बन्ध २०५९ सालसँग जोडिएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते देउवा नेतृत्वको सरकारलाई ‘अक्षम’ भन्दै बर्खास्त गरेका थिए । संविधानको धारा १२७ प्रयोग गर्दै राजाले देउवालाई प्रधानमन्त्री पदबाट हटाएर केही समय कार्यकारी अधिकारसमेत आफ्नो हातमा लिएका थिए ।

त्यस क्रममा तत्कालीन प्रतिनिधिसभा पनि विघटन गरिएको थियो । रोचक पक्ष के छ भने, देउवा स्वयंले प्रधानमन्त्रीको हैसियतमा २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए, जसलाई राजा ज्ञानेन्द्रले स्वीकृत गरेका थिए । त्यसको केही महिनापछि असोज १८ गते भने त्यही राजनीतिक परिस्थितिको प्रभाव देउवामाथि नै परेको थियो ।

राजाको उक्त कदमलाई तत्कालीन राजनीतिक दलहरूले ‘शाही कदम’ तथा ‘प्रतिगमन’ भन्दै विरोध गरेका थिए । प्रधानमन्त्री पदबाट हटाइएपछि देउवा स्वयं राजतन्त्रविरोधी आन्दोलनमा सहभागी भए र राजनीतिक दलहरूसँग सहकार्य गर्दै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे ।

राजाको शासनकालमा पटक–पटक जेल जीवन भोगेका देउवाले त्यसपछि नेपालको राजनीतिमा पुनः प्रभावशाली स्थान बनाए । राजतन्त्र अन्त्यपछि उनी पटक–पटक प्रधानमन्त्री बने भने नेपाली काँग्रेसको सभापति पदमा दुई कार्यकाल नेतृत्व गर्ने अवसरसमेत पाए ।

यसरी २०५९ असोज १८ देउवाका लागि सत्ता गुमेको दिन मात्र रहेन, बरु उनको राजनीतिक यात्रामा नयाँ मोड ल्याउने घटनाका रूपमा स्थापित भयो । दुई दशकभन्दा बढी समयपछि फेरि असोज १८ नै उनको पार्टी नेतृत्व परिवर्तनको अर्को ऐतिहासिक दिन बन्न लागेको छ ।

प्रतिक्रिया