काठमाडौं,१३ असोज — असोज १७ गतेदेखि लगातार तीन दिनसम्म देशभर भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएको सूचना भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले स्पष्ट पारेको छ । विभागले यस्ता अपुष्ट तथा भ्रम सिर्जना गर्ने सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्दै आधिकारिक स्रोतबाट मात्र मौसमसम्बन्धी जानकारी लिन अनुरोध गरेको छ ।
नेपाल मौसम विज्ञान विभागले मंगmवार जारी गरेको सूचनामा असोज १७ गतेदेखि भीषण वर्षा हुने भन्ने विषयमा सर्वसाधारणबाट विभिन्न माध्यममार्फत जिज्ञासा र सोधपुछ आएको उल्लेख गर्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागका अनुसार मौसम पूर्वानुमान महाशाखाले हालसम्म त्यस्तो कुनै पनि भीषण वर्षासम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छैन ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न÷नफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ ।”
विभागका अनुसार पछिल्लो मौसमी अवस्थाको विश्लेषण गर्दा असोज १७ गतेदेखि तीन दिनसम्म देशभर असामान्य रूपमा भीषण वर्षा हुने संकेत देखिएको छैन । मौसमसम्बन्धी संवेदनशील विषयमा अपुष्ट सूचना प्रवाह हुँदा सर्वसाधारणमा अनावश्यक त्रास फैलिन सक्ने भएकाले विभागले जिम्मेवार रूपमा सूचना आदानप्रदान गर्न आग्रह गरेको हो ।
मौसम पूर्वानुमानसम्बन्धी सूचना समय, स्थान र मौसमी प्रणालीको अवस्थाअनुसार परिवर्तन हुन सक्ने भएकाले आधिकारिक निकायबाट जारी विवरणलाई मात्र आधार बनाउन विभागले आग्रह गरेको छ । विशेषगरी सामाजिक सञ्जालमा फैलिने स्रोतविहीन सामग्रीले जनमानसमा भ्रम उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता सूचनाको पुष्टि नगरी शेयर तथा प्रचार नगर्न समेत अनुरोध गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागले सर्वसाधारणलाई नियमित मौसम अपडेटका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत प्राप्त सूचनामा भर पर्न आग्रह गरेको छ । विभागले मौसमसम्बन्धी कुनै महत्वपूर्ण परिवर्तन भएमा आधिकारिक माध्यमबाट जानकारी गराइने पनि जनाएको छ ।
यसअघि पनि विभिन्न समयमा मौसमसम्बन्धी अतिरञ्जित तथा अपुष्ट सूचना सामाजिक सञ्जालमार्फत फैलिँदा सर्वसाधारणमा अन्योल सिर्जना हुँदै आएको छ । मौसम विभागले यस्ता सूचनाको सत्यता परीक्षण गरेर मात्र विश्वास गर्न र आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।