सिन्धुली,०८ असोज – नेपाली काँग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा सिन्धुली क्षेत्र नं. २ बाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि युवा नेता उज्ज्वल कुमार थापाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी संगठनलाई समयअनुकूल गतिशील बनाउँदै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै थापाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
संगठन निर्माणमा सक्रिय भूमिका, कार्यकर्तासँगको निरन्तर सहकार्य र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आफ्नो आधार बनाउँदै थापाले नेपाली काँग्रेसको केन्द्रीय तहमा सिन्धुलीको प्रतिनिधित्व गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन् ।
कमलामाई नगरपालिका–६ का वडा अध्यक्षसमेत रहेका थापा स्थानीय तहको नेतृत्वमा सफल अनुभव हासिल गरेका युवा नेता हुन् । उनी हाल दोस्रो कार्यकालका लागि वडा अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । स्थानीय पार्टी संगठन, सामाजिक अभियान र जनसेवाका क्षेत्रमा सक्रिय थापा कार्यकर्ता तथा आम नागरिकमाझ परिचित नामका रूपमा स्थापित छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा थापा कमलामाई नगरपालिका–६ को वडा अध्यक्षमा सिन्धुली जिल्लाका ७९ वडाध्यक्षमध्ये सबैभन्दा बढी मतान्तरसहित विजयी भएका थिए । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थापाले ९ सय ६० मतान्तरको उल्लेखनीय जित हासिल गरेका थिए । जनताको अत्यधिक विश्वास र समर्थनसहित दोस्रो पटक निर्वाचित हुनुले उनको लोकप्रियता र जनसम्बन्धलाई थप पुष्टि गरेको छ ।
वडा तहमा रहेर थापाले संगठन विस्तार, कार्यकर्ता परिचालन, जनताका समस्या समाधान तथा पार्टी र जनताबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । स्थानीय सरकार सञ्चालनको अनुभवसँगै पार्टी संगठनलाई नयाँ पुस्ताको ऊर्जा र प्रविधिसँग जोड्न सक्ने क्षमता उनीसँग रहेको समर्थकहरूको भनाइ छ ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी दिशा, नीति र संगठनात्मक संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । बदलिँदो राजनीतिक परिवेशमा युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका आवश्यक रहेको आवाज उठिरहेका बेला थापाको उम्मेदवारीलाई युवापुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।
लामो समयदेखि पार्टी संगठनमा क्रियाशील, जनतासँग प्रत्यक्ष जोडिएका हाल सम्म पार्टीको आन्तरिक कुनै पनि पदमा नरहेका थापा स्थानीय तहको नेतृत्वमा सफल अनुभव हासिल गरेका कारण थापाले केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन् ।
सिन्धुली क्षेत्र नं. २ का खस आर्य प्रतिनिधिहरूबीच आफ्नो स्पष्ट दृष्टिकोण, संगठनप्रतिको प्रतिबद्धता र युवा नेतृत्वको आवश्यकतालाई अघि सार्दै थापा मत मागिरहेका छन् । पार्टीलाई अझ सुदृढ, समावेशी र समयसापेक्ष बनाउन नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राख्दै उनले आफूलाई अवसर प्रदान गर्न प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।
आगामी महाधिवेशनमा सिन्धुलीको आवाजलाई प्रभावकारी रूपमा केन्द्रीय तहसम्म पु¥याउने प्रतिबद्धतासहित थापाको उम्मेदवारी अहिले क्षेत्र नं. २ मा चर्चाको विषय बनेको छ ।