सिन्धुली,०७ असोज — नेपाली काँग्रेस कमलामाई नगर समितिको सभापतिमा समुन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न नगर समितिको ९औँ नगर अधिवेशनबाट श्रेष्ठलाई सर्वसम्मत रूपमा नगर सभापतिको जिम्मेवारी प्रदान गरिएको हो ।
नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै नगर समितिका अन्य पदाधिकारीसमेत सर्वसम्मत चयन गरेको छ । समितिको खुला उपसभापतिमा विश्वेश्वर पाण्डे चयन भएका छन् भने महिला उपसभापतिको जिम्मेवारी सीता लो ले जिम्वेवारी प्राप्त गरेकी छन् । त्यस्तै, सचिव पदमा बलराम अधिकारी, सह–सचिवमा मनबहादुर खत्री र कोषाध्यक्षमा टीकाप्रसाद चौलागाईं चयन भएका छन् ।
पार्टीको सांगठनिक संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित सम्पन्न नगर अधिवेशनबाट सहमतिमार्फत नेतृत्व चयन गरिएको हो । निर्वाचित पदाधिकारीहरूले आगामी दिनमा पार्टी संगठन विस्तार, कार्यकर्ताबीचको समन्वय र स्थानीय तहमा काँग्रेसको भूमिका प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन् ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत देशभरका विभिन्न तहका अधिवेशनहरू सञ्चालन भइरहेका छन्। सोही क्रममा कमलामाई नगर समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै नगर संगठनलाई अघि बढाउने बाटो तय गरेको हो ।