सिन्धुली,०४ असोज – राजनीतिक परिवर्तनका लागि आफ्नो जीवनको सबैभन्दा सुन्दर समय समर्पण गर्ने हजारौँ युवामध्ये एक नाम हो,महेन्द्र श्रेष्ठ । सिन्धुलीको माटोमा जन्मिएका श्रेष्ठले व्यक्तिगत भविष्य होइन, समाज परिवर्तनको सपना रोजे । तर आज उनकै बलिदानबाट बनेको राजनीतिक यात्रामा उनको नाम र योगदान क्रमशः ओझेल पर्दै गएको गुनासो सुनिन थालेको छ ।
असोज ४ गते युवा सहिद महेन्द्र श्रेष्ठको स्मृति दिवस । नेपालको राजनीतिक परिवर्तनका लागि आफ्नो जीवनको उर्वर समय समर्पण गरेका श्रेष्ठलाई सम्झिने दिन । तर विडम्बना, जुन आन्दोलनका लागि उनले आफ्नो जीवन बलिदान गरे, त्यही आन्दोलनको मूलधारबाट आज उनी क्रमशः ओझेल पर्दै गएको अनुभूति उनका सहयोद्धा र शुभेच्छुकहरूले गर्न थालेका छन् ।
सहिद महेन्द्र श्रेष्ठ सिन्धुलीको साविक भद्रकाली गाविस–१, अमलेमा २०२६ साल असार ६ गते जन्मिएका थिए । सामान्य परिवारबाट आएका श्रेष्ठ युवावस्थामै समाज परिवर्तन, समानता र न्यायको पक्षमा सक्रिय राजनीतिमा होमिएका थिए । तत्कालीन राज्य व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा उनी भूमिगत राजनीतिमा सक्रिय भए र तत्कालीन नेकपा (माओवादी) को सिन्धुली जिल्ला सेक्रेटरीको जिम्मेवारीसमेत सम्हाले ।
२०५५ सालमा आन्दोलनकै क्रममा उनलाई तत्कालीन शाही नेपाली सेनाले ओखलढुंगाबाट गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि उदयपुरको खोक्सामा २०५५ साल असोज ४ गते उनको हत्या गरिएको थियो । उनको जीवन केवल एउटा राजनीतिक कार्यकर्ताको जीवन थिएन, बरु तत्कालीन विद्रोही आन्दोलनका लागि समर्पित एक युवा नेतृत्वको कथा थियो ।
माओवादी कालमा पार्टीले सैन्य तालिमका लागि महेन्द्र श्रेष्ठ र निर्बतमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई भारत पठाएको उल्लेख पाइन्छ । यसले पनि तत्कालीन आन्दोलनभित्र श्रेष्ठको भूमिका र विश्वासलाई देखाउँछ ।
तर आज प्रश्न उठेको छ,जसको योगदान र बलिदानलाई आधार बनाएर एउटा ठूलो राजनीतिक शक्ति निर्माण भयो, त्यही शक्तिले उनलाई कति सम्झिरहेको छ ?
महेन्द्र श्रेष्ठको स्मृति दिवसमा विगतका वर्षहरूमा जस्तो उत्साहपूर्ण कार्यक्रम, औपचारिक सम्झना र पार्टीस्तरीय सम्मान देखिन छाडेको भन्दै उनका सहकर्मी तथा शुभेच्छुकहरूले असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । तत्कालीन माओवादी अहिले विभिन्न धार हुँदै नेकपाको रूपमा अघि बढिरहेको अवस्थामा पनि श्रेष्ठजस्ता आधार निर्माण गर्ने सहिदहरूको योगदान सार्वजनिक स्मृतिमा कमजोर हुँदै गएको आलोचना हुने गरेको छ ।
सहिद महेन्द्र श्रेष्ठजस्ता युवाले आफ्नो जीवन व्यक्तिगत सुविधा, पद र प्रतिष्ठाका लागि होइन, एउटा फरक समाज निर्माण गर्ने सपना बोकेर समर्पण गरेका थिए । उनीहरूको बलिदान केवल इतिहासको एउटा अध्याय होइन, आजको राजनीतिक नेतृत्वका लागि आत्ममूल्यांकन गर्ने आधार पनि हो ।
आज कम्युनिस्ट आन्दोलन विभिन्न चुनौतीको सामना गरिरहेको छ । जनतासँगको सम्बन्ध, संगठनात्मक संस्कार र विचार तथा व्यवहारबीचको दूरीबारे बहस भइरहेका बेला महेन्द्र श्रेष्ठको सम्झना अझ अर्थपूर्ण बन्न सक्छ ।
सहिदको सम्मान केवल सालिकमा माला चढाउनु वा स्मृति दिवस मनाउनु मात्र होइन । उनीहरूले देखेको सपना, उनीहरूको त्याग र संघर्षको उद्देश्यलाई व्यवहारमा कति उतारियो भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो ।
महेन्द्र श्रेष्ठको जीवनले एउटा गम्भीर प्रश्न छोडेर गएको छ, परिवर्तनका लागि आफ्नो जवानी र जीवन अर्पण गर्ने ती युवाहरूको सपना आजको राजनीतिमा कहाँ छ ?
सहिद महेन्द्र श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली । उनको बलिदान र योगदानलाई इतिहासको पानामा मात्र होइन, जनताको चेतनामा जीवित राख्ने जिम्मेवारी आजको पुस्ताको हो ।