सिन्धुली,२३ भदौ – सिन्धुलीको कमलामाई नगरपालिका–१२ शिखरपुरका ६७ वर्षीय का लागि सिन्धुली बजार पुग्ने यात्रा सामान्य बजार यात्रा होइन, यो चार दशकभन्दा लामो संघर्ष र आत्मनिर्भरताको निरन्तर कथा हो । गाउँमा सडक विस्तार र यातायातको पहुँच बढ्दै गए पनि शिखरपुरसम्म अझै नियमित यातायात सुविधा पुग्न सकेको छैन । त्यसैले थिङ आज पनि डोकोमा आफ्नै बारी तथा जंगलमा उत्पादन भएका तरकारी र फलफूल बोकेर बजारसम्म पुग्ने परम्परागत बाटोमै निर्भर छन् ।
सिन्धुली बजारमा लाग्ने शनिबारे हाटका लागि थिङ हरेक साता घरबाट निस्कन्छन् । बिहानै एकै दिनमा बजार पुग्न कठिन हुने भएकाले उनी शुक्रबार साँझ करिब ४ बजे घरबाट यात्रा सुरु गर्छन् । करिब तीन घण्टा पैदल हिँडेपछि तोरिस्वारामा रहेका आफन्तको घरमा रात बिताउँछन् । भोलिपल्ट शनिबार बिहान करिब ४ बजे पुनः यात्रामा निस्किएपछि बिहान ८ बजेतिर उनी डोकोमा बोकेको उत्पादनसहित सिन्धुली बजार पुग्छन् ।
थिङले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी तथा जंगलमा पाइने फलफूल संकलन गरेर हरेक शनिबार बजारमा बिक्री गर्दै आएका छन् । उनले बजारबाट प्राप्त आम्दानीले घरका लागि आवश्यक तेल, मसला तथा अन्य दैनिक उपभोग्य सामग्री खरिद गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको वस्तु बिक्री गरेर परिवारको आवश्यकता पूरा गर्ने उनको यो नियमित माध्यम बनेको छ ।
तर, लामो दूरी पैदल पार गरेर बजारसम्म ल्याएको उत्पादन बिक्री गर्दा पनि विगतमा उनले बजार कर तिर्नुपर्ने अवस्था थियो । थिङका अनुसार शनिबारे हाटमा ल्याइएको सामानको परिमाण हेरेर २० रुपैयाँदेखि ५० रुपैयाँसम्म कर लिने गरिएको थियो । पछिल्ला तीन सातादेखि भने आफूहरूसँग कर नलिइएको उनले जानकारी दिए ।
सिन्धुलीका ग्रामीण क्षेत्रका किसानका लागि यस्तो पैदल बजार यात्रा विगतमा सामान्य दैनिकी थियो । यातायात सुविधा नहुँदा तिनकन्या, गोलन्जोरलगायत विभिन्न गाउँका किसानहरू शुक्रबार राति नै डोकोमा जुनार, तरकारी र फलफूल बोकेर सिन्धुली बजार पुग्ने गर्थे । उनीहरू हाटेचौर आसपास रात बिताएर भोलिपल्ट व्यापार गर्ने र पुनः गाउँ फर्किने परम्परा थियो ।
समयसँगै सडक सञ्जाल विस्तार भए पनि सबै गाउँसम्म यातायातको सुविधा समान रूपमा पुग्न सकेको छैन । खड्कबहादुर थिङको निरन्तर पैदल यात्रा अहिले पनि ग्रामीण किसानको पहुँच, परिश्रम र आत्मनिर्भरताको एउटा प्रतिनिधि उदाहरण बनेको छ । चार दशकदेखि जारी उनको डोको यात्रा सिन्धुलीका पुराना ग्रामीण व्यापारिक अभ्यास र बदलिँदो समयबीचको एउटा जीवित सम्झना बनेर रहेको छ ।स्रोत सिन्धुली मंसिर चार